Welcome, Guest

उपसचिव समायोजन आजदेखि

2075-10-20 / Source: kantipurdaily.com  /  2.1K 0

काठमाडौँ — सरकारले समायोजनमा जाने उपसचिवलाई आइतबारबाट समायोजन पत्र दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले आइतबारदेखि उपसचिवले आफूले रोजेको स्थानीय तह, प्रदेश या केन्द्रमा जान समायोजनपत्र बुझ्न थाल्ने जानकारी दिए ।
 
उपसचिवले आफ्नो समायोजनपत्र आफैं प्रिन्ट गर्नसक्ने व्यवस्था मिलाइएको छ । उनका अनुसार आइतबार करिब २ हजार जनाले अनलाइनबाट आफ्नो समायोजनपत्र प्रिन्ट गर्न सक्नेछन् ।
 
‘अनलाइन फाराम भर्दाकै पासवर्ड प्रयोग गरेर उपसचिवले अनलाइनबाट समायोजनपत्र निकाल्न सक्ने व्यवस्था मिलाइएको छ’, अधिकारीले शनिबार कान्तिपुरसँग भने, ‘समायोजनपत्रका लागि उहाँहरूले मन्त्रालय धाइरहनु पर्दैन ।’
 
समायोजन पत्रमा संघ, प्रदेश र स्थानीय तहसमेत उल्लेख हुनेछ । संघमा समायोजन भएका उपसचिवलाई सामान्य प्रशासन मन्त्रालयले संघअन्तर्गतका विभिन्न कार्यालयमा खटाउनेछ । प्रदेशमा समायोजन भएकाहरू सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हाजिर हुनेछन् । स्थानीय तहमा जानेहरूलाई पनि त्यसैअनुसारको व्यवस्था मिलाइएको छ । कर्मचारी समायोजन अध्यादेशमा बाटोको म्यादबाहेक २१ दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर नहुने कर्मचारीलाई स्पष्टीकरणको अवसर दिएर बर्खास्त गर्नसक्ने व्यवस्था छ ।
 
सरकारले विशिष्ट श्रेणी (सचिव) बाट समायोजन सुरु गरेको छ । ५६ सचिवले गत साता मुख्यसचिव लोकदर्शन रेग्मीबाट समायोजनपत्र बुझेका छन् ।
 
मन्त्रालयको समायोजन महाशाखाका प्रमुख सहसचिव केदार पनेरुका अनुसार सहसचिवहरूको समायोजनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । अधिकारीका अनुसार प्रशासन सेवाबाहेकका १ सय २ जना सहसचिवलाई प्रदेशका मन्त्रालयमा खटाइनेछ ।

 


You need to login to comment.

Facebook Comments

Read More News