Welcome, Guest

घरमै बसेर वीर अस्पतालको टिकट काट्न पाइने, डाक्टरसँग समय लिन पनि अस्पताल जान नपर्ने !

2075-10-03  /  2.5K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौं– देशकै जेठो वीर अस्पतालमा रंग रोगन गरिएपछि अस्पतालको स्वरुप फेरिएको छ । धुर्मुस–सुन्तली फाउण्डेशनको सक्रियतामा गत जेठ महिनादेखि वीर अस्पतालको स्वरुप फेरिएको हो ।
 
अस्पताल नयाँ रंगले चम्किएको छ, भर्‍याङहरु नयाँ भएका छन्, शौचालय, बाटोहरु सफा छन् । रंगरोगनले अस्पताल नयाँ देखिएको भएपनि सेवा दिने तरिका पुरानै भएको भन्दै सेवाग्राही खिन्न बन्ने गरेका छन् । 
 
 
विहान ८ बज्नुअघि नै बिरामीहरु  टोकन लिन लामबद्ध बनिसकेका हुन्छन् । टोकन लिने समयमा कहिलेकाही त तछाडमछाड नै चल्ने गर्छ ।  
 
विभिन्न किसिमका स्वास्थ्य समस्या लिएर देशभरबाट आउने बिरामीहरु टोकन लिन मात्रै होइन,  टिकट लिन, चिकित्सकलाई आफ्नो समस्या देखाउन र औषधि किन्ने ठाउँसम्म लाइन बसेर पालो कुर्नुपर्छ । 
 
अस्पलातमा बिरामीको संख्या अत्याधिकहुँदा बिरामीहरुले लाइन बसेर मात्रै सेवा लिनुपर्ने अवस्था रहेको वीर अस्पतालका निमित्त निर्देशक डा. भूपेन्द्र बस्नेत बताउँछन् । 
तर वीर अस्पतालमा सेवा लिन जानेहरुले यो समस्याबाट मुक्ति पाउने भएका छन् । 
 
बिरामीले घण्टौंसम्म लाइनमा बसेर उपचार गराउनुपर्ने बाध्यतालाई वीर अस्पतालले व्यवस्थापन गर्ने तयारी गरेको छ ।
 
बिरामीले घरमै बसेर टिकट बुक गरी चिकित्सकको समय लिएर लाइन नबसी उपचार सेवा लिन पाउँने व्यवस्था गर्न लागिएको अस्पतालका निमित्त निर्देशक डा. बस्नेतले बताए । 
 
‘वीर अस्पताल अब पुरानो अस्पताल रहँदैन, हामीले यो वर्षमा होल डिजिटलाइज(पूर्ण प्रविधियुक्त) गर्दै छौं,’ डा. बस्नेतले लोकान्तरसँग भने, ‘अब वीर अस्पतालमा उपचारका लागि टिकट काट्न अस्पतालमै आउनु पर्दैन, वीर अस्पतालको डाक्टरलाई देखाउन घरमै बसिबसि टिकट काटेर उपचार गर्न आउन सक्नुहुन्छ, हामीले त्यसको काम शुरु गरिसकेका छौं ।’
 
अस्पतालमा विद्युतीकरण गर्नका लागि गतवर्षकै टेन्डर मार्फत ५० लाखको सर्भरसमेत खरिद गरिसकेको डा. बस्नेतले जानकारी दिए । अस्पताललाई प्रविधिमैत्री बनाउनका लागि सफ्टवेयरमा डाक्टरहरुको र बिरामीहरुको रेकर्ड राख्ने भइरहेको उनले जानकारी दिए ।
 
वीर अस्पतालको ओपीडीमा दैनिक २ हजारदेखि २५ सय सम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।

You need to login to comment.

Facebook Comments

Read More News