Welcome, Guest

समायोजन सफ्टवेयरमा ६५ हजार आए, २४ हजार बाँकी

2075-10-02 / Source: rajdhanidaily.com  /  2.2K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौं ।सरकारले थालेको कर्मचारी समायोजन प्रक्रियामा सहभागी हुन देशभरका ६५ हजार ७९ कर्मचारी समायोजन सफ्टवेयरमा सहभागी भएका छन् । सफ्टवेयरमा सहभागी भएका मध्ये आइतबारसम्म ४३ हजार ९८६ जना कर्मचारीले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन फाराम  भरेका छन् ।
 
हाल रहेका ८९ हजार कर्मचारीमध्ये ६५ हजार ७९ जना कर्मचारी समायोजन सफ्टवेयरमा सहभागी भएका छन् तर २४ हजार कर्मचारी भने हालसम्म समायोजन प्रक्रियामा सहभागी भएका छैनन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका समायोजन शाखाका उपसचिव केशरबहादुर पण्डितले कर्मचारी समायोजनमा उत्साहजनक सहभागिता भइरहेको जानकारी दिए । सरकारले गत ११ पुसमा सार्वजनिक सुचना आह्वान गर्दै कर्मचारीलाई समायोजन फाराम भर्नका लागि २१ दिनको म्याद दिएको थियो । सरकारले दिएको सो म्याद यही २ माघमा सकिँदै छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २ माघदेखि फाराम भरेका सबै कर्मचारीको समायोजन प्रक्रिया थालिने जानकारी दिएको छ ।
 
मन्त्रालयको समायोजन शाखाका अनुसार समायोजनको लागि फाराम भर्ने कर्मचारीको संख्या हेर्दा संघमा सबैभन्दा बढी आकर्षण देखिएको छ । फाराम भर्दा संघ छनोट गर्ने कर्मचारीको संख्या ३१ हजार ६०५ रहेको छ ।
बाँकी १२ हजारले मात्रै प्रदेश र स्थानीय तहलाई रोजेको संघीय मामिला मन्त्रालयले जनाएको छ । तर, समायोजन फाराम भर्दा एकै कर्मचारीले प्रदेश र स्थानीय तहमा धेरै ठाउमा रोजेकाले पनि त्यस्ता कर्मचारीको संख्या धेरै देखिएको छ । सोअनुसार विभिन्न प्रदेशमा कर्मचारीले रोज्दा कर्मचारीको रोजाइ संख्या ३९ हजार २२० पुगेको छ भने स्थानीय तहमा रोजाई संख्या २ लाख २१ हजार ५६९ पुगेको छ ।
 
मन्त्रालयका अधिकारीका अनुसार कतिपय कर्मचारी अझै पनि प्रदेश र स्थानीय तहमा समायोजन भएर जाँदा वृत्ति विकासको सुनिश्चितता नहुने हो कि भन्ने चिन्ताले समायोजन प्रक्रियामा सहभागी हुन सकेका छैनन् । तर, सरकार भने समायोजन भएर जाने कर्मचारीलाई संघमा आउने वृत्ति विकासका सबै ढोकाहरू खुृला गर्ने प्रतिबद्धता जनाउँदै आइरहेको छ ।
सो प्रतिबद्धताअनुसार सरकारले संघीय निजामती सेवा विधेयकमा समायोजन भएर जाने सबै कर्मचारीका लागि बढुवाका सबै बाटाहरु खुला गर्ने प्रावधान राखिसकिएको जनाएको छ ।
बढुवाका सबै प्रावधान राखिएकाले कुनै शंका नगरी समायोजन प्रक्रियामा सहभागी हुन सरकारले सबै कर्मचारीलाई आग्रह गरेको छ ।

You need to login to comment.

Facebook Comments

Read More News