Welcome, Guest

क्रिकेटर करण केसी १ लाख नगदसहित सम्मानित

2075-04-27 / Source: onlinekhabar.com  /  2K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

 क्रिकेटर करण केसी गण्डकी प्रदेशबाट नगद १ लाखसहित सम्मानित भएका छन् ।
 
राष्ट्रिय क्रिकेट टिमका सदस्य करणले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गण्डकी प्रदेशसहित समग्र नेपालकै नाम उज्वल बनाउन महत्वपूर्ण योगदान दिएको भन्दै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले सम्मान गरेको हो ।
 
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक विकास मन्त्री नरदेवी पुनलगायतले केसीलाई नगद १ लाख, सम्मान पत्र, दोसल्ला, माला र खादा लगाएर सम्मान गरे ।
 
सम्मान पाएपछि बोल्दै युवा क्रिकेटर करणले सम्मानले आफूलाई क्रिकेटमा समर्पित गर्न थप प्रेरणा दिएको बताए । उनले भने, ‘अब पनि म जिउज्यान लगाएर खेल्छु र आफ्नो देशलाई जिताएर विश्वसामु नेपालको झण्डा फहराउँछु ।’ उनले पहिले नेपाललाई सगरमाथाको देश भनेर चिन्ने गरेपनि हाल आएर क्रिकेटका कारण पनि चिन्न थालेको प्रसंग सुनाए ।
 
आफूजस्तो खेलाडी कयौं भए पनि बाटो नदेखेर स्थानीय स्तरमै रुमल्लिरहेको बताउँदै उनले भने,’म जस्ता खेलाडी धेरै छन्, तर उनीहरु खेलमा आइरहेका छैनन्, किनकी उनीहरुलाई खेलकुदमा आउने बाटो नै थाहा छैन, अब प्रदेश सरकार र खेलकुदका अगुवाहरुले वातावरण बनाएर उनीहरुलाई डोहोर्‍याउँदै बाटो देखाइदिनुहोला ।’
 
सम्मान सुपारी बाँडेजस्तो मात्रै : मुख्यमन्त्री
 
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले खेलकुदको माध्यमबाट प्रदेश र देशकै नाम उचो बनाउने खेलाडीलाई सम्मान गर्ने परम्पराको गण्डकी प्रदेशले थालनी गरेको बताए । सम्मानस्वरुप दिइएको रकम सानो भए पनि यो शुरुवात भएको बताउँदै उनले भने,’यो सानो रकम हो, यो एक लाखले करणलाई केही पनि हुँदैन सुपारी बाँडेजस्तै हो, अब यसले निरन्तरता पाउँछ ।’
 
मुख्यमन्त्री गुरुङले नेपाल सरकारले खेलकुदको क्षेत्रमा यथोचित ध्यान दिन नसकेको आरोप लगाए । खेलकुद देश चिनाउने र समाज स्वस्थ बनाउने माध्यम भएको बताउँदै उनले भने,’नेपाल सरकारले खेलकुदको क्षेत्रमा यथोचित ध्यान दिन सकेको छैन, सायद खेल नबुझेका मान्छेहरु भएर होला ।’
 
मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश खेल र खेलाडीको उन्नतिका लागि दत्तचित्त भएर लाग्ने बताए । उनले सातै प्रदेशमा क्रिकेट एकेडेमी खोल्नुपर्ने बताउँदै त्यसको थालनी पोखराबाट गर्नेबारे गण्डकी प्रदेश सकारले सोंचिरहेको जानकारी गराए ।
 
उनले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा खेल मैदान बनाउने योजना अघि बढेको बताए । मुख्यमन्त्री गुरुङले मुस्ताङको लोप्साङखर्कमा हाई अल्टिच्युड फुटवल मैदान बनाउने योजना अघि बढेको र त्यहाँ संसारका राम्रा राम्रा देशका खेलाडी उतारेर खेलकुदको नयाँ सन्देश दिने बताए ।
 
सामाजिक विकास मन्त्री नरदेवी पुनले गण्डकी प्रदेशलाई खेलकुदको हबको रुपमा विकास गर्ने लक्ष्य राखेको बताइन् ।

You need to login to comment.

Facebook Comments

Read More News