Welcome, Guest

अस्ताए नेपाली फुटबलका मणि

2075-02-01 / Source: onlinekhabar.com  /  2.3K 1

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणिविक्रम शाहको ५१ वर्षको उमेरमा निधन भएको छ ।
 
कलेजोमा समस्या देखिएपछि आइतबार बेलुका काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएको उनको उपचारकै क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ । लामो समयदेखि कलेजोको रोगबाट पीडित उनी आइतबार ज्वरोको समस्या देखिनु अघि घरमै आराम गरिरहेका थिए ।
 
सम्झनामा मणी
 
कालधारामा उनकै नामको गल्ली छ, जहाँ उनले हालसालै घर पनि बनाएका थिए ।
 
घरको चौथो तलाको एउटा कोठाको भित्तामा उनले पाएका मेडल र तस्वीरहरु सजिएका छन् । भित्ताको एउटा कुनामा महान फुटबलर पेलेले हस्ताक्षर गरेको ब्राजिलको जर्सी ।
 
 
 
नजिकै टीभी, जसमा उनी इंग्लिस प्रिमियर लिग र ला लिगाका महत्वपूर्ण खेलहरु हेर्थे । त्यसको छेवैमा फुटबल आकारकै सोफा ।
 
केही दिनअघि भेट्दा मणि आफ्नो तस्वीर, मेडल देखाउँदै आफू स्वस्थ हुँदै गएको सुनाएका थिए । तर, कालोकालो वर्णका उनी अलिअलि पहेँलो भएको आँखा प्रस्ट देखिन्थे ।
 
अस्वस्थ रहेकै अवस्थामा पनि उनको खेलाडी स्वभावमा कमी भएको थिएन । ‘यो सबै म फुटबलर भएरै मिलेको हो । त्यसले आफ्नो खेल जीवनलाई फर्केर हेर्दा अहिलेसम्म पनि रमाइलो लाग्छ’ नेपाली फुटबलका मणिले भनेका थिए ।
 
तर, स्वस्थ्य भएर नेपाली फुटबललाई कुनै न कुनै रुपमा योगदान गर्ने उनको इच्छदा अधुरै रहृयो ।
 
खेलाडी बाबुको छोरा
 
वि.सं. २०२४ साल असार १५ गते आमा स्वर्गीय रेखा शाहको गर्भबाट जन्मिएका हुन् मणि । उनका बुवा स्वर्गीय लक्ष्मणविक्रम शाह पनि खेलाडी नै थिए ।
 
एथ्लेटिक्स, फुटबल र ज्याभलिङ थ्रोका खेलाडी बुवाको सन्तान भएकाले मणि सानो छँदादेखि नै घरमा खेलको वातावरण थियो । बुवाकै प्रेरणाले खेलमा लागेका थिए ।
 
बुवाले डोर्‍याउँदै फुटबल खेलाउन टुँडिखेलसम्म लगेको उनी सम्झिरहन्थे । १३ वर्षकै उमेरमा उनले बैंककमा प्रिन्सेस कप खेल्न जान पाएका थिए । त्यसपछिको दुई वर्ष पनि उनी बैंकक गए । सानो बेलादेखि नै उनमा उत्कृष्ट खेल क्षमता थियो । जहाँ जहाँ खेल्न जान्थे सबैलाई प्रभावित पारेर र्फकन्थे ।
 
१७ वर्षमै राष्ट्रिय टिममा
 
मणिले सन् १९८५ मा बंगलादेशको ढाकामा भएको तेस्रो साफमा राष्ट्रिय टिममा स्थान बनाए, जतिबेला उनी मात्र १७ वर्षका थिए । प्रतियोगितामा नेपाल तेस्रो भयो ।
 
उनले पाँच पटटक साफ खेले । सन् १९८७ को साफमा नेपाल तेस्रो भयो । त्यसपछि सन् १९८७ मा दोस्रो भएको नेपाल सन् १९८९, सन् १९९१ मा सहभगी मात्र भयो ।
 
मणीको चमक त्यसबेला उज्यालियो, जब सन् १९९३ मा बंगलादेशको ढाकामा भएको साफमा नेपाल विजयी भयो । जसमा फरवार्ड मणिको भूमिका महत्वपूर्ण थियो । त्यसपछि उनी सन् १९९५ मा भारतमा भएको सातौँ साफमा पनि खेले ।
 
उनी एसियन कप छनोट १९८६, एसियन गेममै जापानमा १९९४, १९९८ मा बैंककमा सहभागी भएका थिए ।
 
एशियाली खेलकुदमा सन् १९९८ मा राष्ट्रिय झण्डा बोकेर टिमकै नेतृत्व गरेर सहभागी भएका उनी एशियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने एकमात्र फुटबलर हुन् ।
 
उनले विश्वकप छनोटका लागि सन् १९८९ मा कोरियामा पनि खेले । उनी ओलम्पिक छनोटमा खेलमा पनि सन् १९८७ जापान र १९९८ मा कोरियामा सहभागी भएका थिए । उनले सन् १९८५ देखि १९९८ सम्म नेपाली राष्ट्रिय टोलीमा रहेर फुटबल खेले । राष्ट्रिय टोलीबाहिर पनि उनले मनाङ मस्र्याङ्दी, आरसीटी, एनआरटी, फ्रेण्ड्स क्लब, ब्वाइज क्लब, आरएनएसीबाट फुटबल खेले । उनको प्राय समय मनाङ मस्र्याङ्दी क्लबमै बित्यो ।
 
सन्तुष्ट फुटबलर
 
 
 
उनी फुटबल नै आफ्नो जीवन भएको ठान्थे । उनले त्योबाहेक अन्य कुरा सोच्नु परेन । फुटबल समर्थकले नेपाली म्यारोडोना भनेर चिन्ने उनको नशा नशामै फुटबल थियो ।
 
भन्थे, ‘मेरा लागि फुटबल भगवानले दिएको सुन्दर उपहार हो । जहिलेसम्म खेलेँ, राम्रो नै गरेँ ।’
 
उनले दुई वर्ष सन् ०९७ र ०९८ सालमा राष्ट्रिय टिमको कप्तानको भूमिका पनि निभाए । आˆनो समयमा उपेन्द्रमान सिंह र देवनारायण चौधरीलाई मन पराउने मणीलाई अहिलेको पुस्तामा नवयुग श्रेष्ठ मनपर्ने खेलाडी थिए ।
 
उनले २०४३ सालमा बेस्ट फुटबल खेलाडीको सम्मान पाए । बेस्ट भएरै २०५५ सालमा रुपक स्मृति सम्मान पाए । २०५६ सालमा वर्ष युवा खेलाडीको पुरस्कार पाएका उनले फुटबलकै कारण विभिन्न २० भन्दा धेरै देशको भ्रमण गरे ।
 
स्वर्ण दिलाउने त्यो फ्रि किक गोल
 
नेपाली फुटबलमा मणीको चर्चा गर्दा उनले गरेको फ्रि किक गोललाई छुटाउन सकिँदैन ।
 
१९९३ मा ढाकामा भएको साफमा नेपालले साफमा कुनै पनि खेलमा स्वर्ण जित्न सकेको थिए । भारत प्रतिद्वन्द्वी भएपछि फुटबलमा पनि स्वर्णको आश गरिएको थिएन ।
 
फाइनल खेलको सुरुमा नेपाल १-० ले पछि पर्‍यो । मिडफिल्डर उमेश प्रधान र मणीको तालमेल खुबै मिल्थ्यो । उमेशकै गोलले नेपालले खेल पहिलो हाफमै बराबरी गर्‍यो । तर, दोस्रो हाफमा भारतले फेरि एक गोल थप्यो । २-१ ले नेपाल पछि परिरहेको थियो । समय निकै कम । ३० सेकेण्ड जति बाँकी हुँदा नेपालले फ्रि किक पायो । फ्रि किक हान्ने मौका पाए उनै मणीले ।
 
डिएरिया बाहिरबाट पाएको त्यो फ्रि किकमा गोल गर्दै उनले खेल टाइब्रेकरसम्म पुर्‍याए ।
 
‘त्यो बेला डरसँगै निकै खुशी लागेको थियो । टाइब्रेकरमा उपेन्द्रमान सिंहले दुईवटा राम्रो बचाउ गरे । त्यो हाम्रो खेल जीवनकै उत्कृष्ट क्षण हो’ उनले सम्झिएका थिए ।
 
अनौठो प्रतिभा
 
 
 
जजसले मणी शाहको खेल हेर्न पाए, उनीहरु सबैले भन्ने गरेको एउटै कुरा हो, ‘मणी जस्तो अर्को फुटबलर नेपालमा छैन ।’ मिलेको पास, डि्रबलिङ र गोल उनको खेलमा जादु नै देखिन्थ्यो । यसैले उनका समकालीन खेलाडी तथा राष्ट्रिय टिमका पूर्वकप्तान गणेश थापा पनि मणीको जादुमा प्रभावित थिए ।
 
थापा मात्रै होइन, उनको खेल हेर्ने सबै नै प्रशंसा गर्छन् । उनी भने भगवानकै देन मान्थे । नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान उपेन्द्र मान सिंह पनि मणीको खेल सम्झिरहन्छन् ।
 
यसैले त जन्मदै फुटबल क्षमता लिएर जन्मिएका मणीको निधनले नेपाली फुटबल जगतमा गहिरो शोक परेको छ ।

You need to login to comment.

1 Comments

Hem Shrestha

on 16 May, 2018

RIP

Facebook Comments

Read More News