Welcome, Guest

पद, पैसा र पहुँचको प्रतिस्पर्धा

2074-05-02 / Source: himalayatv.com  /  5K 2

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

ऋषि आफ्नो एक शिष्यसंग कतै गइरहेका थिए । बाटामा रुख, झार छरपस्ट थिए । बाटोमा जाँदै गर्दा एक ठाउँ चारवटा रुख लहरै उभिएका थिए । पहिलो भर्खरै उम्रिएको, दोस्रो पात हालेको, तेस्रो वयस्क र चौथो ठूलो रुख थियो । ती ऋषिले आफ्नो शिष्यलाई ती रुखहरु क्रमशः सानोदेखि उखेल्न अ¥हाए । शिष्यले पहिलो र दोस्रो सजिलै उखेले ।
 
तर तेस्रो र चौथो उखेल्न सकेनन् । त्यसपछि ऋषिले शिष्यलाई बुझाउँदै भने– हेर, कुलत पनि यिनै रुखहरुजस्तै हुन् । यसलाई शुरुमै उखेलेर फालेमा मात्र सजिलै निमिट्यान्न पार्न सकिन्छ । यदि यसले जरो गाड्यो भने तेस्रो र चौथो रुखजस्तै उखेल्न निक्कै कठिन हुन्छ । कर्म नराम्रो छ भने भाग्य पनि रुन्छ । हिंड्ने गोरुकै पुच्छर निमोठिन्छ ।
 
लच्केको हाँगालाई झन लच्काउँछ मान्छे । जंगलमा सुरिलो र सिधा रुख नै काटिन्छ । अरु त अरु तपाईंका ईन्द्रिय नै स्वार्थी छन् । अन्धकार भएपछि आँखैले धोका दिन्छ, देखिदैन । दिन ढलेपछि छायाँले छोड्छ । जीवन एउटा वाक्य हो । जवानी डिक हो भने बृद्ध कमा, अनि मृत्यु फुलस्टप । भूझटले सत्यलाई दुख दिन त सक्छ तर परास्त गर्न सक्दैन ।
 
केराको पातजस्तो सपाट जीवन कसैको हुँदैन । हाँसेर गरेको पापको सजाय रोएर भोग्नुपर्छ । जसरी हातले बाँधेको गाँठो दाँतले टोकेर फुकाउनु पर्छ । दिनेको हात कहिल्यै खाली हुँदैन, विडम्वना माग्नेको पेट कहिल्यै भरिदैन । आजकल पद, पैसा र पावरका लागि मानिसको भागदौड छ ।
 
तर शान्ति उसले पाएको छैन । शान्ति सम्पन्नतामा हुँदैन । शान्ति पाउन चार गुणको विकास गर्नुपर्छ– स्वयंसंग मैत्री, करुणा, प्रसन्नता र कृतज्ञता । जेष्ठ बन्न सजिलो छ तर श्रेष्ठ बन्न कठिन । श्रेष्ठ बन्न दृष्टिकोण बदल्नु पर्छ । भगवानको लीला नै हेर्नुस न । ब्रह्मा सृष्टिकर्ता, विष्णु पालनकर्ता, महेश्वर संहारकर्ता । तर विडम्बना पूजा भने तिनै संहारकर्ताको हुन्छ ।
 
कारण एउटै हो– डर  औकातले धान्ने उपलब्धि मात्र दिगो हुन्छ । चाहिनेभन्दा बढी प्रकाश मान्छेको आँखामा प¥यो भने उ अन्धो हुन्छ ।
मुखबाट बोली निकाल्नुअघि एकपटक सोच्नुस । लेख्नुअघि दुईपल्ट सोच्नुस । केही काम गर्नुअघि तीनपल्ट सोच्नुस । सधैं हेक्का राख्नुस– घमण्डले मान्छे फुल्न सक्ला तर फैलिन सक्दैन । जो मान्छेसंग धनबाहेक अरु केही छैन नि, त्यो भन्दा महादरिद्र संसारमा अरु कोही हुँदैन ।
 
कन्जुसलाई दानी मन पर्दैन । लोभी मगन्तेसंग डाढ गर्छ । रुपवानका लागि बुढ्यौली शत्रु सावित हुन्छ । व्यभिचारी महिलालाई पति मन पर्दैन । गरिबलाई धनी रुचाउँदैन । तर जसको मन शोकले ब्याकुल छ , उसलाई केही मन पर्दैन । त्यो मानिस सुखी हो, जो विगत स्मरण गर्छ, वर्तमानमा बाँच्छ ।
 
सुगन्धविनाको फुल, तृप्ति र उद्देश्यविनाको प्राप्ति अनि प्रसन्नताविनाको जीवन व्यर्थ हुन्छ । मान्छेले सुख एकै बस्तुको प्राप्तिबाट पाउँछ भने दुखका निम्ति धेरै कुराको संयोग मिल्नुपर्छ । धनभित्रको दरिद्रभन्दा गरिबीभित्रको दुखी हुनु लाखौं गुना बेश छ । बाले भन्थे– बाबु , जत्रो ओढ्ने छ , त्यतिमात्र खुट्टा पसार्नु । तर विडम्बना म सत्य चाहन्छु , असत्य छ ।
 
जीवन चाहन्छु , मरण छ । संयोग खोज्छु , वियोग छ । पूर्णता खोज्छु, जबर्जस्तसंग अपूर्णता आइलाग्छ । संसारमा कुनै विषयको अन्तिम व्याख्या छैन । अरु त अरु मृत्युको पनि । यसरी नकमाउनु कि पाप होस । यसरी खर्च नगर्नु कि रिन लागोस । यसरी नखानु कि अपच होस । यसरी नहिंड्नु कि पुग्न ढिलो होस । जीवनको सत्य के हो भने गाई विभिन्न रंगका भएपनि दूध सेतै हुन्छ ।
 
अलग अलग धर्मको शैली अलग भएपनि आखिर त्यसको निष्कर्ष एउटै हुन्छ– मानिसले शुभ कर्म गर्नुपर्छ । मानवसेवा नै सवै धर्मको गन्तव्य हो । जो मानिस आफ्नो अवगुण र अरुको गुण देख्छ, उ महान हुन्छ । मानिसको शरीर पनि कल्पवृक्षजस्तै हो, जे माग्यो त्यो पाइन्छ । कुनैपनि धर्मले यो बाचा गर्दैन कि तपाईं सामु कुनै दुख आउँदैन ।
 
बरु धर्मले यो विश्वास दिलाउँछ कि दुखमा पनि संयम र आशको दियो निभ्दैन । विद्या, तप, ज्ञान, शील र संयम यसैबाट निसृत हुन्छ ।
बाँदरले हाँगा लच्काउने मात्र हो, रुख भाँच्ने होइन । यो तागत उ संग हुँदैन । समाज बिग्रन त तपाईं र मेरो सम्बन्ध पो बिग्रनु पर्छ त । थोरै त्यो सम्बन्ध अरु कसैले तामो तुलसो छोएर गाँसिदिएको हो र ? हाम्रो समाजमा एकथरि मान्छे छन, जसलाई गंगा आए गंगै ठीक, जमुना आए जमुनै ठीक ।
 
अर्काथरि मान्छे जो यति अतिवादी छन कि समाधानभित्र पनि समस्या खोजिदिन्छन । तेस्रोथरिको त रोगै विचित्रको छ , उनीहरु संसारका भएजति सवै दुख बटुल्छन अनि खोज्छन– सुख । समाजको वास्तविकता हेर्नुस त, ठूलो घर छ– परिवार छैन । औषधि महँगियो– स्वास्थ्य बिग्रियो । रक्सी धेरै छ– घाँटी भिजाउने पानीको अभाव छ । मानिस बढेका छन– मानवता शून्यमा झर्दैछ । आम्दानी बढेको छ– आत्मशान्ति छैन ।
 
फेसबुके साथी बढे– सुदामाजस्ता साथी एउटै रहेनन । अब मान्छे कम, रोबर्ट मान्छे ज्यादा बाँच्न थाल्यो । बाउ आमासंग छोरो छुटिँदा घरखेत, भाँडाचिन्डा, गाईभैंसी, सुनचाँदी, रुपियाँ पैसा सबै बाँडिए । आमाले नौ महिना गर्भमा राखेर प्रसूति पीडाको त्यो आधा जीवन, आधा मरनको क्षण बाँडिएन । आफू नांगिएर न्याना कपडाले छोराछोरीको आङ छोपिदिने बाउको फराकिलो छातीप्रति कसैले गौरव गरेन ।
 
५० डिग्रीको तापक्रममा जीवन जाँतो झै पिँधेर बचराको मुखमा चारो पु¥याउने बाउको संघर्ष गाथा कसैले लेखेन । सन्तानको स्वास्थ्य बिग्रिएला भनी कैयौं रात अनिदो काट्ने आमाको त्याग अंशबण्डासंग कतै जोडिएन । बरु स्तनपान दिवस मनाएर आमाको अवमूल्यन गरियो ।
 
पाठेघर र सिन्दुरको अधिकार खोजेर सम्बन्धलाई छालाको थैलाभित्रको गंगाजल जस्तो बनाइयो ।सम्बन्धहरु औपचारिकतामा सीमित बन्दै गए । बाआमाका लागि नभाँचिने लौरा बजारमा थुप्रै खरिद विक्री भए । तिनै दिव्य आत्माको कामेका हातलाई भर दिने सन्तानका बलिष्ट हातहरु धर्मराउँदै गए । 
 
जो कसैको कुरा सुन्दैन त्यो पनि असफल । जो सवैको कुरा सुन्छ त्यो पनि असफल । भनिन्छ– नेपालमा हुनेखाने र हुँदा खाने दुई वर्ग छन । तर म त भन्छु– त्यो वर्ग भडखारोमा परेर अहिले मासु्भात खाने र आँसुभात खानेमा विभाजित भइसकेको छ । सुखी हुने उपायः आफूसंग जे छैन, त्यो बिर्सनु नै सुख हो ।
 
मानिस बाँच्छ वर्तमानमा, तर उसलाई विश्वास हुन्छ अर्को जन्मको । स्वर्ग जान पाउँ भनेर हजारौं मन्दिरमा लाखौं घण्ट बजाइन्छन् । दीप बालिन्छन् । भाकल गरिन्छन् । कति निर्दोष पशुपन्छी बली चढाइन्छन् । तिमी अर्को जन्ममा के बन्ने ? प्रश्न नखस्दै धेरैको जवाफ आउँछ– पुतली, चरा ।
 
अनिश्चित स्वर्गका लागि आर्थिक, नैतिक र भौतिक रुपमा समर्पित हुने मान्छे आफ्नै आँखा अगाडि देखिएका अनगिन्ती अमानवीय दृश्यमा आँखा चिम्लिन्छ । एउटा बालक सडकमा अनिश्चित भविष्य बाँचेको हुन्छ । तर धेरैको संवेदनाले छुँदैन । अनित्य छ जीवन, अनित्य छ जगत ।
 
छ कुनै शाश्वत भने सायद अनित्य मात्र छ । बाँकी सवै भस्म भएर जान्छन । बाँकी रहने भनेको प्रेम मात्र हो । भनिन्छ नि, दूध फाटेको देखेर उही मानिस उदासिन हुन्छ, जसलाई रसभरि बनाउन आउँदैन ।

You need to login to comment.

2 Comments

Ram Kumar Remo

on 20 Aug, 2017

santi hami bhitra cha

Ram Kumar Remo

on 20 Aug, 2017

edi tapai santi ko khoji ma hunuhuncha bhane shree prem rawat ji ko satsang sunnu hos

Facebook Comments

Read More News