Welcome, Guest

कर्मचारीले घूस मागे ? १०७ मा फोन गर्नूस्

2074-05-01 / Source: onlinekhabar.com  /  3.7K 1

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

१ भदौ, काठमाडौं । सरकारी सेवा लिने क्रममा कुनै कर्मचारीले तपाईसँग घूस मागेका छन् ? यदि कुनै सरकारी अड्डाका कर्मचारीले सेवा प्रवाहमा अनेक बहाना बनाई घूस मागेर अनावश्यक दुःख दिइरहेको छन् भने तपाईले अब सीधै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फोन गर्न सक्नुहुनेछ ।
 
आफ्नो मोवाइल वा फोनबाटै १०७ अंक डायल गरेर अनियमितता गर्ने सरकारी कर्मचारीलाई उजुरी दिन सकिने व्यवस्था अख्तियारले थालेको छ । यो नम्बरमा फोन गर्दा पैसा नलाग्ने अख्तियारले जनाएको छ ।
 
सरकारी कार्यालयमा भ्रष्टाचार र अनियमितता बढेको गुनासो आउन थालेपछि सर्वसाधरणको सुविधाका लागि अख्तियारले यस्तो व्यवस्था गरेको हो ।
 
सरकारी निकायको भ्रष्टाचार र अनियमितताको छानविन गरी मुद्दा चलाउने संवैधानिक निकाय अख्तियारले सरकारी कर्मचारीलाई जनताप्रति उत्तरदायी बनाउन यस्तो सेवा सुरु गरेको जनाएको छ ।
 
‘सरकारी सेवामा हैरानी भोगेका सेवाग्राहीलाई कहाँ – कसरी उजुरी गर्ने भन्ने जानकारी नभएको देखियो,’ आयोगका प्रवक्ता जीवराज कोइरालाले भने, ‘हटलाइन सेवाले भ्रष्टाचार नियन्त्रण गर्न र सेवा प्रवाहमा जनताको हैरानीको समस्या न्यूनीकरण गर्ने अपेक्षा लिएका छौं ।’
 
अब यातायात, श्रम र मालपोतमा अख्तियारको अड्डा
 
त्यस्तै, अख्तियारले बढी सेवाग्राहीको बढी घुइँचो हुने तथा भ्रष्टाचार हुने सरकारी कार्यालयहरूमा सचेतनामूलक होडिङ बोर्ड राख्ने भएको छ ।
 
आयोगले शुक्रबारदेखि नै ‘राष्ट्रसेवक कर्मचारीहरूले घूस/रिसवत मागेमा १०७ मा फोन गर्नुहोला’ भन्ने व्यहोराको होडिङ बोर्ड सरकारी कार्यालयमा राख्ने तयारी गरेको जनाएको छ ।
 
जसअन्तर्गत पहिलो चरणमा बढी भ्रष्टाचार हुने देखिएका स्थानमा यस्तो होडिङबोर्ड राखिने अख्तियारले बताएको छ ।
 
‘अहिले यातायात कार्यालय, श्रम कार्यालय र मालपोत तथा नापी कार्यालयमा यस्तो होडिङ बोर्ड राख्नेछौं,’ आयोगका प्रवक्ता कोइरालाले भने ।
 
यस्तो बोर्ड सर्वसाधारणले देखिने स्थानमा कार्यालयको अगाडि राखिने आयोगले बताएको छ । पहिलो चरणको कार्यको प्रभावकारीता हेरेर यसलाई विस्तार गर्दै लाने आयोगले जनाएको छ ।
 
आयोगका अनुसार हटलाइनबाट आएको सूचनाको तत्काल सम्बोधन गरिनेछ । एकपटकमा सात वटा फोनकल ‘रिसिभ’ गर्नसक्ने व्यवस्था मिलाइएको अख्तियारले जनाएको छ ।

You need to login to comment.

1 Comments

Ram Prasad Ghimire

on 25 Aug, 2017

सर्बसाधारण को लागि यो सुविधा प्रदान गरेको मा अख्तियार लाई बिशेष धन्यवाद .

Facebook Comments

Read More News