Welcome, Guest

अपाङ्गता परिचयपत्र नक्कली, जागिर चट्

2074-04-22 / Source: gorkhapatraonline.com  /  2.6K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौँ,  साउन २२ गते ।  लोकसेवा आयोगबाट अपाङ्ग कोटामा नापी निरीक्षक (नायव सुब्बा) पदका लागि सिफारिस एक व्यक्तिको अपाङ्गता परिचयपत्र नक्कली पाइएको छ ।  
विवरण ढाँटेर अपाङ्गता परिचयपत्र लिएको पाइएपछि ती व्यक्तिको अपाङ्ग परिचयपत्र सम्बन्धित निकायले बदर गरिदिएको छ ।  अपाङ्गता परिचयपत्र बदर भएपछि नापी निरीक्षक पदका लागि आयोगले गरेको सिफारिससमेत रद्द हुने भएको छ ।  
आयोगले लिएको वि.नं. ११४७३/२०७२/०७३, नेपाल इञ्जिनियरिङ सेवा, सर्भे समूह, राजपत्र अनङ्कित प्रथम श्रेणी, सर्भेक्षक÷नापी निरीक्षक पदका लागि सिफारिस गरिएको रोल नम्बर १३००५६ का भीमबहादुर विकको अपाङ्गता परिचपयपत्र बदर गरिएको हो ।  विकको परिचयपत्र नक्कली भएको आरोपसहित वैकल्पिक उम्मेदवार दीपेन्द्र रानाभाटले दिनुभएको निवेदनको छानबिनका क्रममा विक अपाङ्ग नभएको पाइएपछि बदर गरिएको महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले जनाएको छ ।  
विकले झूठो विवरण दिएर अपाङ्गता परिचय लिएको आरोपसहित रानाभाटले २०७३ माघ ४ गते निवेदन दिएपछि आयोगले माघ ५ गते त्यस मन्त्रालयलाई छानबिनका लागि पठाएको थियो ।  आयोगको पत्रानुसार मन्त्रालयले अपाङ्गता परिचयपत्र दिने मोरङस्थित महिला तथा बालबालिका कार्यालयमा छानबिनका लागि पत्राचार गरेको थियो ।  
मोरङ महिला तथा बालबालिका कार्यालयले छानबिन गरेपछि विकको परिचयपत्र नक्कली रहेको पाइएको थियो ।  त्यसपछि अपाङ्ग परिचयपत्र पुनरावलोकन समितिको बैठकले विकको परिचयपत्र खारेज गर्ने निर्णय गरी मन्त्रालयलाई जानकारी गराएको थियो ।  विकको परिचयपत्र खारेज भएको जानकारीसहित आवश्यक कारबाहीका लागि मन्त्रालयले आयोगलाई यही शुक्रबार पत्राचार गरेको जनाइएको छ ।  
“अपाङ्ग परिचयपत्र पुनरावलोकन समितिको मिति २०७४ साउन ९ को बैठकले विकले प्राप्त गरेको अपाङ्ग परिचयपत्र बदर गरिएको निर्णयको फोटोकोपी प्राप्त हुन आएकाले जानकारी एवं आवश्यक कारबाहीका लागि प्राप्त निर्णयको फोटोकोपी पाना तीनसमेत यसैसाथ संलग्न गरी पठाएको बेहोरा अनुरोध छ,” मन्त्रालयको अपाङ्गता अधिकार प्रवद्र्धन शाखाका उपसचिव केशव भट्टराईद्वारा प्रेषित पत्रमा उल्लेख छ ।  
शुक्रबार मात्रै पत्र प्राप्त भएकाले त्यस विषयमा आइतबार आवश्यक निर्णय लिइने आयोगका एक अधिकारीले बताउनुभयो ।  राष्ट्रिय अपाङ्ग कोषका पूर्वसभापति नितेश गुप्ताले अपाङ्गका लागि आरक्षित कोटामा गैरअपाङ्गले नक्कली परिचयपत्र बनाएर सरकारी सेवा सुविधा लिने गरेको आरोप लगाउँदै परिचयपत्र वितरणमा कडाइ हुनुपर्ने बताउनुभयो ।  
गैरअपाङ्गलाई अपाङ्गताको परिचयपत्र वितरण गर्ने सम्बन्धित निकायका पदाधिकारीलाई कानुनी दायरामा ल्याउन आवश्यक भएको बताउँदै उहाँले उल्लिखित घटनाले अपाङ्गता भएका व्यक्तिलाई पनि सचेत बनाएको बताउनुभयो ।  यस विषयमा हामी अपाङ्गता क्षेत्रमा क्रियाशील व्यक्ति र संस्थालाई सतर्क बनाएको उहाँले उल्लेख गर्नुभयो ।  

You need to login to comment.

Facebook Comments

Read More News