Welcome, Guest

लोकसेवा १ वर्ष रोकिँदै, ८ लाख युवा प्रभावित हुने

2075-04-30 / Source: annapurnapost.com  /  19.3K 5

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौ  :  सरकारले लोकसेवा आयोगको भर्ना एक वर्ष रोक्ने गृहकार्य थालेको छ । यस्तो भए आयोगले लिने सबै तहका आन्तरिक र खुला परीक्षा हुने छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सबै तहका परीक्षा १ वर्ष रोक्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारीमा जुटेको छ । परीक्षा रोकिए आन्तरिक तथा खुलातर्फ खरिदारदेखि सहसचिव तयारीमा रहेका ८ लाख आकांक्षी प्रभावित हुनेछन् ।
 
आयोगका अनुसार आर्थिक वर्ष ०७३÷७४ मा निजामती सेवाका विभिन्न पदमा ८ लाखले परीक्षाका लागि आवेदन दिएका थिए । भर्ना रोकिए तयारी गरिरहेका लाखौं आकांक्षीमा निराशा उत्पन्न हुने तथा प्रतिभा पलायन (व्रेन ड्रेन)को खतरा हुने लोकसेवाको ठम्याइ छ । सरकारले भने यसबारे आयोगसँग कुनै छलफल गरेको छैन ।
 
आयोग अध्यक्ष उमेशप्रसाद मैनाली भर्ना रोक्न नहुने बताए । ‘यसबारे सरकारले कुनै छलफल गरेको छैन’, मैनालीले भने, ‘भर्ना रोके बगिरहेको नदी ब्लक हुन्छ । यस्तो प्रयास सरकारले गर्न हुन्न भन्नेमा हामी दृढ छांै ।’
 
परीक्षा र भर्ना रोकिए वृत्ति विकासमा असर पर्ने भन्दै सयौं शाखा अधिकृत र उपसचिव मंगलबार मौन विरोधमा उत्रिए । सहसचिव र उपसचिवमा बढुवाको मुखैमा रहेका उनीहरूले मंगलबार मन्त्री लालबाबु पण्डित र सचिव दिनेशकुमार थपलियालाई भेटेर वृत्ति विकासमा खेलवाड नगर्न भन्दै ज्ञापनपत्र बुझाए ।
 
सचिव थपलियाले परीक्षा लिने–नलिनेबारे आवश्यकताअनुसार निर्णय हुने बताए । ‘संघमा थप कर्मचारी आवश्यक पर्ने–नपर्नेबारे निक्र्यौलपछि उपयुक्त निर्णय हुन्छ’, थपलियाले भने, ‘कर्मचारीले आफ्नो स्वार्थलाई केन्द्रमा राखेर भर्ना रोक वा गर भन्न मिल्दैन । सरकारले आवश्यकताअनुसार निर्णय गर्छ ।’
 
मन्त्रालयले रिक्त कर्मचारीको पदपूर्ति माग नपठाएसम्म लोकसेवाले भर्ना सुरु गर्न सक्दैन । मन्त्रालयले रिक्त कर्मचारी माग प्रक्रिया नै नथालेपछि परिक्षाबारे अन्यौल बढेको हो ।
 
आयोगले भने यसअघि नै चालु आव ०७५÷७६ का लागि परीक्षाको वार्षिक तालिका सार्वजनिक गरिसकेको छ । पदपूर्तिको माग पठाउन आयोगले मन्त्रालयलाई पत्राचार गरिसकेको छ । मन्त्रालयले भने लोकसेवाको पत्रको ‘रेस्पोन्स’ नै गरेको छैन ।
 
स्रोतका अनुसार मन्त्रालयको जनशक्ति, योजना तथा विकास महाशाखाले भर्ना रोक्ने प्रस्तावको मस्यौदा तयार पारिसकेको छ । महाशाखाका एक अधिकृतले भने, ‘संघमा धेरै दरबन्दी काटिएकाले यस वर्ष कर्मचारी आवश्यक नपर्ने ठहरसहित प्रस्ताव तयार पारिएको हो ।’
 
सरकारले हाल संघमा ४५ हजार ८ सय ५८ , प्रदेशमा २१ हजार ३ सय ९९ तथा स्थानीय तहमा ५७ हजार कर्मचारी रहने नयाँ दरबन्दी सिर्जना गरिसकेको छ । हाल केन्द्रअन्तर्गत ८६ हजार कर्मचारी छन् । तिनलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्दा अभाव हुन सक्ने भएकाले भर्ना रोक्न नहुने माग कर्मचारीको छ ।
 
मन्त्रालयका अधिकारीले भने अब भर्ना हुने कर्मचारी प्रदेश र स्थानीय तहमा पठाउन कठिन हुने भएकाले भर्ना रोक्नुपर्ने तर्क गरेका छन् । प्रदेश र स्थानीय तहमा आवश्यक पर्ने कर्मचारी संविधानअनुसार नै प्रदेश लोकसेवाबाट पूर्ति गर्नुपर्ने मन्त्रालयका अधिकारीहरूको तर्क छ ।
 
‘८ लाख युवामा नकारात्मक असर पर्छ’ -उमेशप्रसाद मैनाली, आयोग अध्यक्ष
 
भर्ना प्रक्रिया रोकिए कस्तो असर पर्छ ?
 
गत वर्षको रेकर्ड हेर्ने हो भने सरकारी सेवाका लागि ८ लाखभन्दा धेरै युवाले आयोगमा आवेदन दिएका छन् । भर्ना रोकिए तयारीमा रहेका ८ लाखमा निराशा र कुण्ठा उत्पन्न हुन सक्छ । त्यसको नकारात्मक असरले मुलुकलाई कता लैजाला ? प्रतिभा पलायन (ब्रेन ड्रेन)को समस्या आउन सक्छ ।
 
यसबारे सरकारले आयोगसँग छलफल गरेको छैन ?
 
अहिलेसम्म कुनै छलफल गरेको छैन । हामीलाई औपचारिक जानकारी पनि छैन । हामी कुनै हालतमा भर्ना रोक्न हुँदैन भन्नेमा दृढ छौं । गत वर्ष पनि कर्मचारी समायोजनका लागि भन्दै सरकारले भर्ना रोक्न प्रयास गरेको थियो । हामीले आपत्ति जनाएपछि भर्ना सुरु भएको हो ।
 
सरकारलाई के सुझाव दिनुहुन्छ त ?
 
बगिरहेको नदी ब्लक गर्नुहँुदैन । भर्ना जारी राख्नुपर्छ । भर्ना रोक्ने निर्णयले कसैको हित गर्दैन । उल्टो मुलुकलाई बेफाइदा हुन्छ । यो हाम्रो सरकारसँग अडान हो । भर्ना रोक्ने प्रयासलाई आयोगले समर्थन गर्दैन । रोक्ने निर्णय भयो भने तर्कद्वारा सरकारलाई ‘कन्भिन्स’ गर्ने प्रयास गर्छौं ।

You need to login to comment.

5 Comments

Navin Thapa

on 16 Aug, 2018

Thik vayo. Salary nai kam xa abo Bidesh janxu mo

Valentina Thakuri

on 16 Aug, 2018

mehenat garera padhirahane lakhau person ko mind lai thulo effect parxa. .so plz to be continue d process of loksewa. .

Manoj Patel

on 16 Aug, 2018

maximum age 35 year bat 36 year garanu paraxa

Manoj Patel

on 16 Aug, 2018

1-year jo lagi roke vane age ko haad minimum 36 year rakhanu paraxa

Sita Sharma

on 16 Aug, 2018

roknu,hudaina,lakhau,berojgarilai,nakaratmak,asar,parxa

Facebook Comments

Read More News