Welcome, Guest

१५ हजार सरकारी कर्मचारी गरिबको सूचीमा

2075-04-25 / Source: www.nayapatrikadaily.com  /  4.3K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

गरिब परिचयपत्र कार्यक्रम नै अन्योलमा
 
गरिब पहिचान गरेर सहुलियत दिने योजनाअनुसार सरकारले ल्याएको प्याकेजमा १५ हजार सरकारी कर्मचारी नै गरिबको सूचीमा परेका छन् । गरिब घरपरिवार पहिचान सहयोग समन्वय बोर्डको तथ्यांकअनुसार सरकारी अधिकृत तहका कर्मचारी नै गरिबको सूचीमा परेका छन् ।
 
२०७० मा संकलन गरिएको उक्त तथ्यांकमा शंका लागेका करिब ३ हजार कर्मचारीलाई भने सूचीबाट हटाइएको थियो । अधिकृत वा सोसरह कर्मचारीको तलबबराबरलाई आधार मानेर केही कर्मचारीलाई सूचीबाट हटाइएको हो । त्यतिवेला करिब ३ हजार कर्मचारीको नाम गरिबको सूचीबाट हटाइए पनि अरू कर्मचारीको सूची हटाउने जोखिम लिन नसकिएको बोर्डका कर्मचारीले बताए । यस्तो सूचीमा शिक्षक तथा अन्य स्थानीय कर्मचारी बढी छन् ।
 
तथ्यांक संकलन सकिएका २६ जिल्लामै गरिब परिचयपत्रको विवाद देखिएको छ । धनीको हातमा गरिब परिचयपत्र पुगेको र गरिबहरू छुटेको भन्दै गुनासा आइरहेका छन् । बोर्डका एक कर्मचारीले भने, ‘केही जिल्लाका स्थानीय तहले त परिचयपत्र वितरण गर्न नसक्ने जानकारी बोर्डलाई दिएका छन् ।’
 
काठमाडौं र जिल्ला सदरमुकाम तथा बजारमै घर भएकाहरू गरिबको परिचयपत्र पाउने सूचीमा अटाएपछि विवाद सुरु भएको हो । धनीको हातमा परिचयपत्र पुगेको गुनासो आइरहेको तर त्यसमा अध्ययन भइनसकेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले बताए । ‘तथ्यांक संकलन ०७० मा भएको हो, त्यसैले त्यतिवेला गलत टिपाइएको हुन सक्छ वा यसबीचमा धनी भएको हुन सक्छ,’ सचिव मैनाली नयाँ पत्रिकासँग भने ।
 
साउनभरि वितरण गर्ने समय भएकाले कुन–कुन जिल्ला र स्थानीय तहमा वितरण गरिएन भन्ने यकिन तथ्यांक भने बोर्डमा आएको छैन । बोर्डका निर्देशक रामहरि गैरेका अनुसार हुम्ला, जुम्ला, कालिकोट, डोल्पा, मुगु र बाग्लुङ जिल्लामा भने परिचयपत्र वितरण कार्य सकिएको छ ।
 
गरिबी निवारण मन्त्रालयले साउनभित्र स्थानीय तहलाई परिचयपत्र वितरण गर्ने जिम्मा दिएको छ । स्थलगत अध्ययनका क्रममा भरिएको फारमका आधारमा अति गरिब, मध्यम गरिब र सामान्य गरिब भनिएको हो । तर, बोर्डका कर्मचारी त्यतिवेला फारम भर्ने व्यक्ति र आफ्नो विवरण दिने व्यक्तिका कारणले पनि धनी र गरिबबीच समस्या देखिएको बताउँछन् ।
 
कार्यक्रम नै अन्योलमा
एकातिर परिचयपत्र वितरणमा स्थानीय तहबाट विवाद आइरहेको छ । अर्कोतिर गरिब घरपरिवार पहिचान सहयोग समन्वय बोर्ड सरकारले खारेज गर्ने निर्णय गरिसकेको छ । यो अवस्थामा अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयभित्रै कुनै संयन्त्र बनाएर नयाँ निर्णय लिने तयारीमा सरकार छ । धेरै विवाद आएकाले कार्यक्रम नै खारेज गर्ने तहबाट पनि छलफल सुरु भएको छ ।
 
सचिव मैनालीले बोर्ड नरहने निर्णय सरकारले गरिसकेको बताए । तर, विकल्पमा अर्को कुनै निकाय भने खडा गरिएको छैन । त्यसो त बोर्डका कर्मचारी अरुणकुमार गुप्ताले खारेजीको हल्ला भए पनि आधिकारिक पत्र नआएको बताए ।
 
अहिले मन्त्रालयसँग बोर्डले गर्ने २६ जिल्लाका गरिब परिचयपत्र वितरण गर्ने र बाँकी रहेका ५१ जिल्लामा पहिचानका लागि अध्ययन गर्ने कार्यक्रम छ । यसका लागि ६३ करोड बजेट छ । तर, सचिव मैनाली यो कार्यक्रमका लागि करिब ४ अर्ब बजेट चाहिने बताउँछन् ।
 
गरिबी कार्यक्रमविहीन मन्त्रालय
०७४ जेठमा सरकारले गरिबी निवारणसम्बन्धी कार्यक्रमहरू सञ्चालनका लागि तत्कालीन सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई तोक्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म गरिबसँग जोडिएका कार्यक्रमको समन्वय मन्त्रालयसँग छैन । गरिबी निवारण कोष, युवा स्वरोजगार कोष मन्त्रालयमातहत छैनन् । गरिबी निवारण कोष प्रधानमन्त्री कार्यालयमातहत नै छ । युवा स्वरोजगार कोष गत फागुनबाट युवा तथा खेलकुद मन्त्रालयमा पुगेको छ । गरिबसँग विश्वेश्वर कार्यक्रम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमातहत छ, तर बजेट छैन ।

You need to login to comment.

Facebook Comments

Read More News