Welcome, Guest

निकै मिहिनेत गरेर अधिकृत भएँ

2019-03-10 / 1.7K 0

अर्घाखाँचीमा जन्मिएको मैले सरकारी विद्यालयमा पढेको हुँ । बुबा शिक्षक हुनुहुन्थ्यो । त्यसकारण त्यतिवेला शिक्षणबाहेक अरू सरकारी सेवा हुँदैन भन्ने चेतना मभित्र थियो । निजामती सेवामा मैले चिनेको कोही थिएन । एसएलसी हुँदै १२ कक्षासम्म गाउँमै पढेँ । स्नातक पढ्न बुटवल झरेँ । त्यहाँ गुल्मी, स्याङ्जा र अर्घाखाँचीबाट बुटवल झरेका विद्यार्थीहरूसँग संगत भयो । 
 
गुल्मी, स्याङ्जाका साथीहरू बुटवलमा हातमा मोटो खरिदार तयारी पुस्तक बोकेर मच्चिएर घोकिरहेका हुन्थे । अपुरो निद्रा, शारीरिक कष्ट, मानसिक तनाव, असन्तुलित आहारको कारण गाला भित्र छिरेका, आँखा गडेका साथीहरूको हविगत देख्दा मलाई लोकसेवा आयोग पास गर्छु भन्ने लागेको थिएन । त्यो यातना बोक्ने सामर्थ्य थिएन, मभित्र । त्यही छापले गर्दा खरिदार सुब्बामा कहिल्यै पनि फारम भरिनँ । स्नातकोत्तर, एमफिल पूरा गर्दासमेत लोकसेवाप्रतिको मोह जागेन मलाई । 
 
 
स्नातकपछि विश्वविद्यालयमा पढाउन थालेँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षामा सहभागी हुने अवसर पनि मिल्यो । परीक्षामा राम्रै लेखेँ । तर, नतिजा प्रतिकूल आयो । असह्य पीडा भयो । मेरो नतिजा मात्र अप्रिय होइन, सेवा आयोगको विश्वसनीयतामाथि नै प्रश्न उठ्यो । अख्तियारले समेत छानबिन गर्ने भयो । यो घटनाले मेरो मनमा आगो बल्यो । आगोलाई निभाउन विश्वासिलो संस्थाको खोजी गर्दा लोकसेवा आयोग देखियो । त्यही समय फारम भरेँ । फारम त भरियो, तर तयारीका लागि वरिपरि रहेका चुनौतीका पहाडहरू छिचोल्नुपर्ने थियो । कलेज पढाउन नगए मुखमा माड हाल्न गाह्रो थियो, गए तयारी नपुग्ने त्रास थियो । वयस्क भइसकेको हुँदा घरबाट खर्च माग्ने नैतिक बल पनि थिएन । बिहे गरिसकेको थिएँ । श्रीमती पनि पढ्दै लोकसेवाको तयारी गर्ने, त्यसमाथि बच्चा जन्मिएको थियो । दिनभरि प्राज्ञिक कर्म र समाजसेवा रातभरि आलोपालो बच्चा ढाडमा बोकेर लोकसेवाको तयारी गरियो । आँट, आशा र समयको सदुपयोगले त्यसैपटक अधिकृतमा नाम निकाल्न सफल भएँ । 
 
मेरो निजामती सेवातर्फको यात्रामा दार्शनिक पियरे बड्युले भनेजस्तो सांस्कृतिक पुँजीले काम गरेन । परिवार, छिमेकी र आफन्त यो क्षेत्रमा भएकाले म यता मोडिएको होइन । यहाँ अमात्रयसेनको क्यापाबिलिटी एप्रोचले काम गर्‍यो । उनले भनेअनुसार पहिलो व्यक्तिगत सीपले काम गर्‍यो । अन्तर्निहित दक्षता र सिर्जनात्मकताले काम ग-यो । दोस्रो वातावरणीय प्रभाव, पुलिङ र पुसिङ तत्वले काम गर्‍यो । विश्वविद्यालयबाट उछिट्टिएको र लोकसेवाप्रतिको विश्वसनीयताले घिसारेर लग्यो । तेस्रो निजामती सेवाप्रतिको प्रतिष्ठा र सम्मान दिने सांस्कृतिक प्रभावले काम गर्‍यो । अरू पेसाभन्दा उत्तम जागिर भन्ने वर्तमान सामाजिक बलले धकेल्यो । 
 
पढ्ने तरिका र लेख्ने कला यसको हतियार हो । बृहत् ज्ञान, ज्ञानलाई समयसीमामा व्यवस्थित गर्न सक्ने सीप र खुला एवं सकारात्मक अभिवृत्तिको संयोजन गर्ने कलाको परिणति हो । हाम्रो परीक्षा प्रणाली बेन्जामिन ब्लुमले भनेजस्तो संज्ञानात्मक, त्यसमा पनि ज्ञान तहको परीक्षामा आधारित भएको हुँदा परीक्षार्थी पनि त्यही साँचोमा ढल्नुपर्ने हुन्छ ।
 
मेरो पढ्ने काइदा
लोकसेवामा सफल हुन घुँडा धस्नैपर्छ भन्ने छैन । समय धेरै हुनेले मात्रै निकाल्न सक्छ भन्ने छैन । पाउलो फ्रेरेले भनेजस्तो घोक्ने र ‌ओकल्ने प्रक्रियाले मात्रै हुने पनि होइन । यो डोरबहादुर विष्टले भनेजस्तो भाग्यवादी खेल पनि होइन । लोकसेवा आयोग तयारी कर्म गर्ने फलको आस नगर्ने विधातीय भरोसा नभएर आत्मभरोसाको जगमा गरिने बौद्धिक युद्ध हो । 
 
पढ्ने तरिका र लेख्ने कला यसको हतियार हो । बृहत् ज्ञान, ज्ञानलाई समयसीमामा व्यवस्थित गर्न सक्ने सीप र खुला एवं सकारात्मक अभिवृत्तिको संयोजन गर्ने कलाको परिणति हो । हाम्रो परीक्षा प्रणाली बेन्जामिन ब्लुमले भनेजस्तो संज्ञानात्मक, त्यसमा पनि ज्ञान तहको परीक्षामा आधारित भएको हुँदा परीक्षार्थी पनि त्यही साँचोमा ढल्नुपर्ने हुन्छ । साँचोअनुसार आफ्नो आकार बनाउनुपर्ने हुन्छ । ज्ञानको गहिराइ बढाउनुपर्ने हुन्छ । प्रश्नको मागअनुसार ज्ञानको उपयोग गर्ने खुबीको विकास गर्नुपर्छ । 
 
जरासम्म पुगेर अवधारणा स्पष्ट भएपछि हाँगाबिँगा पढ्ने । दार्शनिक जग खोज्ने । पढाइपछि चिन्तनमा धेरै समय खर्चिने । अवसर मिल्यो कि त अरूलाई पढाउन सुरु गर्ने । गाइड नपढ्ने, फस्ट ह्यान्ड पुस्तक र रिपोर्टहरू पढेर आफ्नो नोट बनाउने । कोर र नन कोर कुरा छुट्याएर कोर कुराको टिपोट गर्ने । त्यही टिपोटमा नजर लगाइरहने । कुनै घटना र सन्दर्भसँग जोडेर स्मरण गर्ने । मेरो पढ्ने काइदा यही हो । छोटा वाक्य । उरन्ठ्यौला शब्द । सिद्धान्तको जलप । व्यवहारको प्रतिक्षेप । समालोचनात्मक विश्लेषण । बृहत् र गहिरो हेराइ । कोर पक्षमा जोड । असंरचित ढाँचा । स्रोतसहितको तर्क । तथ्यांकको प्रयोग । खाडलको उजागर । फड्किने तरिकाको सुझाब । आशावादी वाक्यबाट अन्त्य । यी मेरो लेखका कस्मेटिक हुन् । यही मेरो सफलताको सारथी हो ।

You need to login to comment.

Facebook Comments