Welcome, Guest

जलवायु परिवर्तनको त्रास

2019-02-20 / 1.6K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

हामीसामु जलवायु परिवर्तको त्रासले भरिएको युग आइसकेको छ । गएको ग्रीष्म ऋतुमा तातो वायुले सिंगो उत्तरी गोलार्धलाई प्रभावित ग-यो, जसका कारण क्वेबेकदेखि जापानसम्म दर्जनौँ मानिसले ज्यान गुमाउनुप-यो । क्यालिफोर्नियामा लागेको वन डढेलोले १० लाखभन्दा बढी वनक्षेत्रलाई खरानी बनायो भने सो क्षेत्रमा फसेका सयौँ मानिस तथा वन्यजुन्तुलाई आगोको लप्काले भस्म बनायो । यसैगरी, प्रशान्त समुद्रबाट आएको आँधीले चीनमा ३० लाखभन्दा बढी मासिनलाई विस्थापित ग-यो भने अमेरिकाको हवाई राज्यको इस्ट आइल्यान्डका सबैजसो मानिसलाई विस्थापित ग-यो । 
 
१८औँ शताब्दीको अन्त्यदेखि वर्तमानमा आइपुग्दा विश्वको तापक्रम एक डिग्री सेल्सियसले बढेको छ । तर, पछिल्ला वर्षहरूमा हामीले पृथ्वीको तापक्रम बढाउन कारक तत्व बन्ने कार्बनडाइअक्साइडको उत्सर्जन व्यापक बनाएका छौँ । औद्योगीकरण सुरु भएयता मानव इतिहासको कुनै पनि बिन्दुभन्दा द्रूत गतिमा अहिले वायुमण्डलमा हामीले कार्बनडाइअक्साइड थपिरहेका छौँ ।
 
गत अक्टोबरमा जलवायु परिवर्तनको सन्दर्भमा संयुक्त राष्ट्र संघको अन्तरसरकारस्तरीय प्यानलले सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर खतराको घडीमा पृथ्वी पुगेको तथ्यहरू प्रस्तुत गरेको छ । सो प्यानलमा सहभागी राष्ट्र संघका एक अधिकारीका अनुसार वर्तमान समयमा देखिएका जलवायु परिवर्तनका परिमाण पृथ्वीको तापक्रम १.५ देखि २ डिग्री सेल्सियस वृद्धि हुँदा देखापर्ने किसिमका छन् ।
 
यसको दुई महिनापछि बसेको संयुक्त राष्ट्र संघको एक प्रमुख सम्मेलनले अझ भयावह स्थितिलाई संकेत गरेको छ । सम्मेलनमा सरिक बिबिसीमा ‘प्लानेट अर्थ’ कार्यक्रम सञ्चालन गर्ने प्राकृतिक इतिहासकार डेभिड एथेन्बरका अनुसार हामीले ठोस कदम नचाल्ने हो भने मानव सभ्यता धराशयी हुने तथा प्राकृतिक विश्वको ठूलो हिस्सा लोप हुने खतरा रहेको चेतावनी दिएका छन् । वैज्ञानिकहरूले पनि यो वास्तविकतालाई महसुस गरिसकेका छन्, तर उनीहरूले यसबारे खासै बोलेको पाइन्न ।
 
जलवायुविद् जेम्स हन्सेनले सन् १९८८ मै अमेरिकी कंग्रेसअगाडि विश्वको तापमान वृद्धिको अवस्थालाई प्रमाणित गरेर देखाइदिएका थिए । तर, पनि वैज्ञानिक वृत्तमा यसले  येथेष्ट बहस नपाउनुलाई उनले वैज्ञानिक मौनताको संज्ञा दिएका थिए । आफ्नै अध्ययनको सम्पादनमा वैज्ञानिकहरू केन्द्रित हुँदा तापमान वृद्धिको खतरालाई विश्वसामु सञ्चार गर्न उनीहरू असफल भएको तर्क हन्सेनको थियो ।
 
सन् २०१८ मा आएपछि मात्रै वैज्ञानिक वृत्तको यस्तो प्रवृत्तिमा केही परिवर्तन देखिन थाल्यो । किनकि झनै बिग्रँदै गएको परिस्थितिमा अब पनि उनीहरू चुप लागेर बस्न सक्ने स्थिति थिएन । यसको उदाहरणका रूपमा संयुक्त राष्ट्र संघमा वैज्ञानिकहरूले प्रस्तुत गरेको प्रतिवेदनलाई लिन सकिन्छ । जहाँ उनीहरूले जलवायु परिवर्तन तथा तापामान वृद्धिको खतरालाई केही हदसम्म मनन गरेको पाइन्छ ।
 
यद्यपि, यी वैज्ञानिकले गरेको अध्ययन आफैँमा नौलो भने होइन । अनि, पृथ्वीको तापक्रम २ डिग्रीभन्दा बढी भएको अवस्थाबारे उनीहरूले कुनै चर्चा गरेका छैनन् । तर, हाम्रा क्रियाकलापले यो तापक्रम वृद्धितर्फ हामी बढिरहेका छौँ । सो प्रतिवेदन विश्वभरका झन्डै एक सयजना वैज्ञानिकको उत्पादन भएता पनि तापमान वृद्धिको अझ भयानक खतरालाई यसले समावेश गरेको छैन । र, विश्व वैज्ञानिकहरूलाई यस प्रतिवेदनले कुनै नौलो आयाम दिन सकेको छैन ।
 
संयुक्त राष्ट्र संघको प्रतिवेदनअनुसार पृथ्वीको तापक्रम वृद्धि २ डिग्रीभन्दा माथि जान नदिन सन् २०३० सम्म हरितगृह ग्यासको उत्सर्जनलाई ४५ प्रतिशले घटाउनुपर्ने हुन्छ । तर, हरितगृह ग्यासको उत्सर्जन घट्नुको सट्टा झनै बढिरहेको स्थिति अहिले छ ।
 
 तर, जलवायु परिवर्तनको त्रासलाई विभिन्न कारण खतराको हिसाबले सोच्नुपर्ने बिन्दुमा आइपुगेका छौँ भने सोचाइलाई महत्वले  हेर्न जरुरी छ । सर्वप्रथमतः अहिलको परिस्थितिमा जलवायु परिवर्तन एउटा संकटको रूपमा देखापरेको छ जसलाई विश्वले प्रभावकारी रूपमा सम्बोधन गर्न जरुरी छ । अर्को शब्दमा भन्नुपर्दा, खतराको चेत हामीमा हुन आवश्यक छ ।
 
कार्बनडाइअक्साइड तथा हरितगृह ग्यास उत्सर्जन गर्ने मामिलामा वर्तमानमा हामी जुन बाटोमा छौँ, सन् २०४० सम्म यसले पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियस र यसको केही दशकभित्रै २ डिग्री सेल्सियसले वृद्धि गर्ने निश्चित छ । यसैगरी, सन् २१०० सम्म पृथ्वीको तापक्रम ४ डिग्री सेल्सियससम्म बढ्ने खतरा छ । यसरी तापक्रम बढ्दै जाँदा सम्भवतः सन् २०५० सम्म ऋतुको अवधिमा मध्यपूर्व तथा दक्षिण एसियाका प्रमुख सहरहरू ग्रीष्म सहन नसक्ने भन्दा अत्यन्तै तातो हुने सम्भावना छ । यसैगरी, हिउँदको समयमा आर्टिक क्षेत्र पूर्ण रूपमा हिउँरहित बन्नेछ भने पश्चिम अन्टार्टिक क्षेत्रमा अनवरत रूपमा हिउँ पग्लिनेछ ।
 
केही वैज्ञानिकले यस्तो स्थिति देखापर्न थालिसकेको बताउँछन् । यसैगरी, समुद्री तटीय क्षेत्रनजिकका सहरहरूलाई बाढीले सखाप पार्ने खतरा छ । समुद्रभित्रको पारिस्थितिक प्रणाली पनि लोप हुने स्थिति पैदा हुनेछ । परिमाणस्वरूप, जलवायु संकटका कारण करोडौँ मानिस जलवायु शरणार्थी बन्नेछन् । लामो खडेरी, बाढीलगायत जलवायु परिवर्तनबाट सिर्जित अन्य धेरै प्राकृतिक प्रकोप देखिनेछन् । 
 
पृथ्वीको तापक्रम ४ डिग्री पुग्न नसक्ने तर्क गर्ने थुपै्र कारणहरू हामी सोच्न सकौँला, तर विश्वभर नै हरितगृह ग्यासको उत्सर्जन बढिरहेको वास्तविकतालाई हामी नकार्न सक्ने स्थितिमा छैनौँ । संयुक्त राष्ट्र संघको प्रतिवेदनकअनुसार पृथ्वीको तपक्रम वृद्धि २ डिग्रीभन्दा माथि जान नदिन सन् २०३० सम्म हरितगृह ग्यासको उत्सर्जनलाई ४५ प्रतिशले घटाउनुपर्ने हुन्छ । तर, हरितगृह ग्यासको उत्सर्जन घट्नुको सट्टा झनै बढिरहेको स्थिति अहिले छ ।
 
यसकारण, मानिसलाई खतराको चेतावनी दिनेभन्दा पनि विद्यमान प्रतिकूल अस्थितिलाई उल्ट्याउन तर्कसंगत कदम चाल्नुपर्ने हुन्छ । मानिसले सहन सक्ने अधिकतम पृथ्वीको तापक्रम २ डिग्री सेल्सियसम्म हो र त्यहाँभन्दा माथि गए प्रलय हुने चेतावनी समेटिएका सामग्री हामीले पत्र–पत्रिकामा पढ्दै आएका छौँ । तर, २ डिग्रीभन्दा बढी तापक्रम वृद्धि भए के हुन्छ भन्ने विषय वैज्ञानिक वृत्तभन्दा बाहिर बिरलै मात्र छलफल हुने गरेको छ । 
 
जलवायु परिवर्तनप्रतिको चिन्ता बढिरहँदा राजनीतिक तहबाट यसलाई ठूलो समस्याका रूपमा हेरिएको छैन । गत डिसेम्बरमा गरिएको एक सर्वेक्षणमा ७३ प्रतिशत अमेरिकीले जलवायु परिवर्तन भइरहेको जवाफ दिए । जुन सन् २००८ यता गरिएको सर्वेक्षणमध्ये सबैभन्दा बढी अमेरिकीले जलवायु परिवर्तनलाई स्विकारेको अवस्था हो । तर, दुःखको पक्ष के छ भने गएको महिनामा गरिएको एक सर्वेक्षणमा जलवायु परिवर्तनसँग जुध्न प्रतिमहिना १० डलर खर्च गर्न नसक्ने प्रतिक्रिया सर्वेक्षणमा सहभागी अधिकांश अमेरिकीले दिए ।
 
सहभागीमध्ये केहीले महिनाको १ डलरसम्म खर्च गर्न सक्ने प्रतिक्रिया दिए । हालै वासिंग्टनमा भएको निर्वाचनमा कार्बन कर योजनालाई मतदाताले अस्वीकार गरिदिए । कार्बन कर तिर्न स्थानीय अनिच्छुक हुनुको कारण कि त अब केही हुँदैन भन्ने कि त यसरी खर्च गर्नु अनावश्यक भइसकेको बुझाइ उनीहरूको छ । यस्तो बुझाइलाई सांकेतिक रूपमा हेर्न सकिन्छ । सन् २००० बाटै हामीले विश्वबाट हरितगृह ग्यासको उत्सर्जन न्यूनीकरण गर्ने अभियान सञ्चालन गरेको भए अहिलेसम्म यस्तो उत्सर्जनमा प्रतिवर्ष २ प्रतिशतका दरले मात्र पनि कम गर्न सक्थ्यौँ । 
 
यसको अर्थ, पृथ्वीको तापक्रम २ डिग्री वृद्धिको खतराबाट हामी सुरक्षित अवस्थामा हुने थियौँ । यसर्थ, समयमै हामीले केही गर्न नसकेकाले अब केही हुन सक्दैन अथवा जलवायु परिवर्तनलाई खतराको विषय भइनसकेको बुझाइ कतिपयको छ । गत महिना गरिएको एक सर्वेक्षणमा सहभागीमध्ये ४४ प्रतिशतले मात्रै जलवायु परिवर्तनलाई उच्च राजनीतिक प्राथमिकतामा राखेका छन् । तर, हामीले के बुझ्न जरुरी छ भने अब पनि ढिला गर्ने हो भने जलवायु परिवर्तनको खतरा झनै विकराल बन्नेछ ।
 
अझै पनि हाम्रा ऊर्जा प्रणालीलाई वातावरणमैत्री बनाएर हरितगृह ग्यासको उत्सर्जनलाई निरुत्साहित गर्न सके प्रतिवर्ष ५ प्रतिशतले यस्तो उत्सर्जन कम गर्न सक्छौँ । अर्को दशकसम्म हामीले ढिला गर्ने हो भने त्यसपछि प्रतिवर्ष ९ प्रतिशतले हरितगृह ग्यासको उत्सर्जन कम गर्नुपर्ने हुन्छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले वर्तमान प्रवृत्ति परिवर्तन गर्न र जलवायु परिवर्तनका समस्यासँग जुध्ने कार्यको थालनी गर्ने अन्तिम वर्ष सन् २०२० मात्र रहेको भनाइ व्यक्त गर्नुको पछाडि पनि यिनै वास्तविकता रहेका छन् । 

You need to login to comment.

Facebook Comments