Welcome, Guest

आज असार १५ दहिचिउरा खाने दिन अर्थात १५ औँ राष्ट्रिय धान दिवस

2018-06-29 / 3.1K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन आज देशभर १५ औँ राष्ट्रिय धान दिवस मनाइँदै छ ।
 
रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ ।
 
विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसङ्घले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।
 
विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी विसं २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको बताउनुहुन्छ धान विज्ञ भोलामानसिंह बस्नेत । यो दिवसलाई राष्ट्रिय रुपमा मनाउने राष्ट्रसङ्घका सदस्य राष्ट्रमध्ये नेपाल एउटै रहेको जानकारी उहाँले दिनुभयो ।
 
विश्वको जनसङ्ख्याको आधा अर्थात् साढे तीन अर्ब मानिसको मुख्य खाना नै चामल हो । नब्बे ९० प्रतिशत धान एसियामै उत्पादन हुने गर्छ । उत्पादनको आधा एसियामै खपत हुने गरेको छ । नेपालमा धानको उत्पादन वृद्धि हुँदा आर्थिक वृद्धिदर बढ्ने गरेको धान विज्ञ बस्नेतको अनुभव छ ।
 
नेपालको कुल गार्हस्थ उत्पादनमा २९.४ प्रतिशत योगदान कृषि क्षेत्रको छ । कृषिमा ६०.४ प्रतिशत जनसङ्ख्या आश्रित छन् । कृषि गार्हस्थ उत्पादनमा धानको योगदान २० प्रतिशत रहेको कृषि विकास मन्त्रालयले जनाएको छ । हाल नेपालमा १५ लाख ५२ हजार हेक्टरमा धान खेती भइरहेको छ । खेती गरिने ५०.२ प्रतिशत जमिनमा धान खेती हुने गरेको छ ।
 
मौसमका आधारमा चैते, बर्खे, भदैया, घैया, हिउँदे (बोरो) धानको खेती हुन्छ । मनाङ र मुस्ताङबाहेक ७३ जिल्लामा धान खेती हुन्छ । तराई, मध्य पहाड र उच्च पहाडमा नेपाल कृषि अनुसन्धान परिषद्ले विकास गरेको ६३ जातका धानको खेती गरिन्छ ।
 
खाद्य तथा पोषण सुरक्षाका दृष्टिबाट मानिसलाई आवश्यक पर्ने क्यालोरीको २० प्रतिशत हिस्सा चामलमै पाइन्छ । विश्वका ११४ मुलुकमा धानको उत्पादन हुने गर्छ । संसारमा १६ करोड ३२ लाख हेक्टरमा ७४ करोड नौ लाख मेट्रिक टन धान उत्पादन हुन्छ । सबैभन्दा बढी धान उत्पादन गर्ने मुलुक चीन हो । यसपछि क्रमशः भारत, इन्डोनेसिया, बङ्गलादेश, भियतनाम, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान रहेका छन् ।

You need to login to comment.

Facebook Comments