Welcome, Guest

अंकमा आईपीएल २०१९

2019-05-15 / 7.5K 1

Subscribe to LokSewa Plus for unlimited access to all resources

मुम्बई इन्डियन्सले उपाधि जितेसँगै सन् २०१९ को इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट सकिएको छ। यस आईपीएल क्रिकेटका केही तथ्य र कीर्तिमान :
 
४   
 
चेन्नई सुपर किंग्सलाई एक रनले हराउँदै उपाधि जितेको मुम्बईको यो चौथो आईपीएल उपाधि हो। सन् २०१३ मा पहिलो पल्ट उपाधि उचालेको मुम्बईले सन् २०१५ र २०१७ पनि आईपीएल जितेको थियो। मुम्बईले सन् २००८ को फाइनलमा चेन्नईसँग भोगेको पराजय अहिलेसम्मको फाइनलमा एक मात्र पराजय हो।
 
यो सिजनको फाइनलमा मुम्बईसँग हारेको चेन्नईले यसअघि तीन पटक उपाधि जितेको थियो। त्यस्तै, कोलकाता नाइट राइडर्सले दुई पटक तथा राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद र डेक्कन चार्जर्सले एक–एक पटक आईपीएल उपाधि उचालेका छन्। 
 
२३२  
 
समूह चरणमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सविरुद्ध बनाएको २ सय ३२ रन यो सिजनको सबैभन्दा ठूलो स्कोर हो। कोलकाताले आफ्नो घरेलु मैदानमा दुई विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो। यो खेलमा कोलकाता ३४ रनले विजयी भयो। सनराइजर्स हैदराबादले पनि यो आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध २ विकेट गुमाउँदै २ सय ३१ रन बनायो। यो खेलमा घरेलु टोली सनराइजर्स १ सय १८ रनले विजयी भयो। जुन यस सिजनको सबैभन्दा फराकिलो अन्तरको जीत बन्यो।
 
७०    
 
यो सिजनको आईपीएलमा कुनै पनि टिमले बनाएको न्यून स्कोर भनेको ७० हो। यो स्कोर रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किंग्सविरुद्ध उद्घाटन खेलमा बनाएको हो। यो खेलमा ७१ रनको लक्ष्य पाएको चेन्नई सात विकेटले विजयी भयो।
 
६९२  
 
सनराइजर्स हैदराबादका डेभिड वार्नर यो आईपीएलमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बने। १२ खेलमा ६ सय ९२ रन बनाएका उनले एक शतक र आठ अर्धशतक पूरा गरे। प्रतियोगितामा १४३.८७ स्ट्राइक रेट रहेका उनले ५७ चौका र २१ छक्का प्रहार गरेका थिए। धेरै रन बनाउने खेलाडीको सूचीमा दोस्रो नम्बरमा रहेका किंग्स इलाभेन पञ्जाबका लोकेश राहुलले १४ खेलमा ५ सय ९३ रन बनाए।
 
११४  
 
सनराइजर्स हैदराबादका जोनी बेइस्र्टो यो आईपीएलको एकै पालीमा सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन्। यही सिजन डेब्यू गरेका उनले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध ५६ बलमा १ सय १४ रन बनाएका हुन्। उनले आईपीएलका १० खेलमा ४ सय ४५ रन बनाए। जोनीसहित छ खेलाडीले मात्र यो आईपीएलमा शतक पूरा गरेका थिए।
 
३      
 
राजस्थान रोयल्सका आस्टोन टर्नर यो आईपीएलमा सबैभन्दा धेरै डक आउट भए। आफूले खेलेका चारमध्ये तीन खेलमा उनले रनको खाता खोल्न सकेनन्। 
 
१९,४१६  
 
सन् २०१९ को आईपीएलका ६० खेलमा १९ हजार ४ सय १६ रन बन्यो। जसमध्ये ११ हजार ३ सय २६ रन बाउन्ड्रिज अर्थात् चौका वा छक्काबाट बन्यो। यो आईपीएलमा ४ हजार ९ सय ३४ बल डट रहे।
 
७८५    
 
यो आईपीएलमा ७ सय ८५ वटा छक्का प्रहार भए। सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी कोलकाता नाइट राइडर्सका एन्ड्र्यु रसेल बने। १३ खेलमा ब्याटिङ गरेका उनले ५२ छक्का हाने। दोस्रो स्थानमा रहेका किंग्स इलाभेन पञ्जाबका क्रिस गेलले १३ खेलमा ३४ छक्का प्रहार गरे।  
 
२६      
 
चेन्नई सुपरकिंग्सका इमरान ताहिर यो प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडी बने। उनले १७ खेलमा २६ विकेट हात पारे। त्यस क्रममा उनले ४ सय ३१ बल फालेका थिए। दोस्रो स्थानमा रहेका दिल्ली क्यापिटल्सका कागिसो राबडाले १२ खेलमा २५ विकेट हात पारे। 

Source: sampurnaweekly.com


You need to login to comment.

1 Comments

Hem Shrestha

on 16 May, 2019

sahi ho la

Facebook Comments