Welcome, Guest

समस्याको चुरो पत्ता लगाएर समाधान खोज्ने माछिकाँडा विश्लेषण

2019-03-10 / 664 0

यो समस्याको चुरो कुरोसम्म पुगेर समाधान पत्ता लगाउने एक विधि हो । समस्या के हो, कहाँबाट कसरी आयो भन्ने प्रमुख कारण यसले खोजी गर्न सहयोग गर्छ । जापानका काओरू इसिकावाले सन् १९६० को दशकमा पहिलोपटक कावासाकी सीपयार्डमा गुणस्तर व्यवस्थापनका क्रममा प्रयोगमा ल्याएका थिए । त्यसैले यसलाई इसिकावा डायग्राम पनि भनिन्छ । यसो हेर्दा यसमा माछाको काँडाजस्तो रूपमा कारण र प्रभावको विश्लेषण गरिने हुँदा माछिकाँडा विश्लेषण भनिएको हो । यस डायग्रामले कुनै समस्या वा घटना विशेषका कारणहरू केलाउँछ र स्पष्ट पार्छ ।
 
गुणस्तर व्यवस्थापनका सातवटा आधारभूत उपकरण हिस्टो–ग्राम, पारेटो चार्ट, चेक–सिट, कन्ट्रोल चार्ट, फ्लो–चार्ट, स्क्याटर डायग्राम र माछिकाँडा विश्लेषण मानिन्छन् । समस्याको मुख्य कारणको विश्लेषण यसले गर्ने हुँदा रुट–कज विश्लेषणका नामले पनि यो परिचित छ । यसले समस्या गाँसिएको कुनै प्रक्रियामा देखिन आएका विचलनहरूको सबै हाँगा केलाएर वर्णन गर्छ र यस्तो खालको विश्लेषण वित्तीय तथा सञ्चालनगत विश्लेषण दुवैमा प्रयोग गरिन्छ ।
 
कुनै कार्य गर्दा अपनाइएको प्रक्रियामा कति र किन विचलन आयो, त्यो हेरिन्छ । यदि पहिले नै अनुमान गरिएको विचलन हो भने त्यो सामान्य मान्दै त्यसले प्रक्रियामा खासै बाधा–व्यवधान नपरेको ठानिन्छ । तर, अनुमान नगरिएको र नचाहेको विचलन आयो भने त्यसले ठूलै नोक्सान, ढिलाइ अथवा कार्यक्षमतामा ह्रास ल्याउन सक्ने हुन्छ । अझ यस्तो नसोचिएको विचलन कुनै संवेदनशील चरणमा घटित हुन पुग्यो भने त जोखिम पनि ठूलै आउने गर्छ । 
यस विश्लेषणमा सर्वप्रथम विचलनका कारकहरू पत्ता लगाइन्छ । त्यसपछि तिनले पारेको प्रभावलाई निश्चित अंक प्रदान गरिन्छ । प्रमुख कारकहरूमध्ये जुनचाहिँ समाधान गर्न सहज देखिन्छ, तिनलाई प्राथमिकतामा राखिन्छ । संवेदनशील प्रक्रियामा आएको व्यवधानले कुनै महŒवपूर्ण विचलन ल्याएको छ भने त्यस्तो वेला यो अध्ययन विधि बढी उपयुक्त र प्रभावकारी हुने गर्छ ।
 
माछिकाँडा विश्लेषण कार्यको प्रारम्भ सामान्यतया एक परियोजना टिम निर्माणबाट हुन्छ । यस टिममा व्यवस्थापकहरू, आपूर्तिकर्ता, सेवाग्राही र कर्मचारीहरू सामेल गरिन्छन् । टिमले समस्या अगाडि सार्छ र कुन विचलनले प्रणालीमा सबैभन्दा बढी व्यवधान ल्याइरहेको छ भन्नेबारे उपयुक्त निर्णय लिन्छ । त्यसपछि, टिमले विश्लेषण प्रक्रियाको नक्सांकन गर्छ र त्यस्ता मुद्दाहरू पहिचान गर्छ, जसले तथ्यांक संकलन एवं प्रमाण जुटाउने चरणमा विचलन ल्याउन सक्छ । त्यसपछि समस्यालाई मलजल गर्ने मुद्दाहरू पत्ता लगाइन्छ र तिनको मूल कारण पनि थाहा गरिन्छ । मूल कारण तत्कालै र सतहमा नदेखिने हुन सक्छ । यस्तो हुँदा ब्रेनस्टोर्मिङ विधि प्रयोग गर्नुपर्ने हुन्छ । तत्पश्चात्, पत्ता लागेका मूल कारणलाई एकीकृत गरिन्छ र तिनको सबैसामु राम्ररी व्याख्या गरिन्छ, तिनको व्यापक छलफल गरिन्छ तथा परिणामहरूलाई थप परिमार्जन गरिन्छ । यिनै परिणामहरूका आधारमा सिफारिस तयार गरिन्छन् तथा कार्यान्वयनका लागि अगाडि लगिन्छ ।
 
यस्ता कारकलाई समस्याको मुख्य कारण तथा त्यसबाट आएका साना प्रभावहरूमा वर्गीकरण गरेर व्यवस्थित गरिन्छ । यसै वर्गीकरणको सहायताले ‘कारण–प्रभाव’ डायग्राम तयार हुन्छ । यस डायग्रामले विचलनका सम्भाव्य कारणहरूको समग्र चित्र प्रस्तुत गर्दछ । अध्ययनका क्रममा सम्भाव्य देखिएको मुख्य कारणलाई डायग्राममा विशेष व्याख्यासहित अध्ययन गर्नुपर्ने हुन्छ । यसो गर्दा कारणको चुरोभित्र पुग्न सकिन्छ । यस डायग्रामको मद्दतले समस्यालाई सबैसामु सरल रूपमा बुझ्ने गरी प्रस्तुत गर्न पनि सकिन्छ । प्रायजसो के देखिने गरेको छ भने समस्याका मूल कारणहरूको विश्लेषण गर्दा ८० प्रतिशत विचलनलाई बीस प्रतिशत कारणहरूले ल्याएका हुन्छन् । यस्तो अवस्थालाई औँल्याउने सिद्धान्त ‘पारेटो विश्लेषण’का नामले चर्चित छ ।
 
यस विश्लेषणमा विशेष ध्यान दिनुपर्ने के रहन्छ भने समस्याको मुख्य कारणभन्दा पर नगई त्यसैलाई बढी फोकस गरिनुपर्छ । यसो हुन नसक्दा र साना कारणहरूमा अल्झिन पुग्दा सफलता पनि सानै आकार र परिमाणमा सीमित हुन पुग्छ । नेपालको सार्वजनिक प्रशासनमा देखा पर्ने समस्याहरूको मुख्य कारण र तिनको प्रभाव केलाएर नीतिगत सुधार गर्न माछिकाँडा विधि सहजै उपयोग गर्न सकिन्छ ।  

You need to login to comment.

Facebook Comments