Welcome, Guest

लोकसेवा तयारी : प्रश्न र समाधान

2019-02-11 / 2.7K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

नेपालमा २०१३ सालबाट योजनाबद्ध विकासको सुरुवात भएको हो । लामो समय बितिसक्दा पनि योजनाबद्ध विकास असफल हुनुका कारण र सफल बनाउने उपायहरू सविस्तार चर्चा गर्नुहोस् । 
 
रोडम्याप अफ डेभलपमेन्ट
निश्चित उद्देश्य प्राप्तिका लागि निर्धारित समयमा साधनस्रोतको संयोजन गर्दै गरिने पूर्वनिर्धारित कार्यक्रम नै योजना हो । नेपालमा वि.सं. २०१३ बाट प्रारम्भ भएको योजनाबद्ध विकासको ६ दशकमा ९ वटा पञ्चवर्षीय योजना र ४ वटा त्रिवर्षीय योजना सम्पन्न भइसकेका छन् । उत्पादनशील क्षेत्रमा रोजगारी, न्यायपूर्ण वितरण, उच्च आर्थिक वृद्धि, गरिबी न्यूनीकरण र आर्थिक सामाजिक रूपान्तरणको उद्देश्यसहित हाल चौधौँ त्रिवर्षीय योजना कार्यान्वयनमा रहेको छ । यद्यपि, योजनाबद्ध विकासको निरन्तर प्रयासबाट पनि अपेक्षित प्रतिफल प्राप्त नभएको तितो यथार्थ हाम्रो सामु रहेको छ । 
 
योजनाबद्ध विकास असफल हुनुका कारण
दिगो सोचमा आधारित सु–स्पष्ट योजनाहरू आउन नसक्नु,
योजना, बजेट र कार्यक्रमका बीच उचित तालमेल नमिल्नु,
उपयुक्त विकास प्रतिमानको चयन हुन नसक्नु,
विगतको राजनीतिक अस्थिरता र छिटो–छिटो सरकार परिवर्तन हुनु,
योजना तर्जुमामा राजनीतिक तहबाट हस्तक्षेप हुनु,
योजना तर्जुमाका आवश्यक चरणहरू पूरा नगरिनु,
योजनाका लक्ष्य, उद्देश्य र प्राथमिकताहरू परिवर्तन भइरहनु,
स्थानीय स्रोत र साधनको उपयोग नहुनु,
योजना विदेशी सहयोगमा निर्भर रहनु,
कर्मचारीको बारम्बार सरुवा र परियोजना समयमै नसकिनु,
आयोजना समयमै नसकिनु र आयोजनाहरूमा बजेट छर्ने प्रवृत्ति हावी हुनु,
सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय समुदायबीच सहकार्यको अभाव हुनु,
मागमा भन्दा वितरणमा आधारित योजना बन्नु,
सूचना, तथ्य र तथ्यांकको न्यून उपयोग हुनु,
ऊर्जा संकट, व्यापार घाटा र बन्द हडतालको प्रभाव रहनु, 
सरोकारवालाको न्यून सहभागिता रहनु,
विगतका गल्ती, कमी, कमजोरीबाट पाठ नसिक्नु,
प्रभावकारी नियमन, अनुगमन र मूल्यांकन हुन नसक्नु,
 
योजना सफल बनाउने उपायहरू
दिगो सोचमा आधारित सु–स्पष्ट योजनाको तर्जुमा एवं कार्यान्वयन गर्ने,
आवधिक योजना, वार्षिक बजेट र कार्यक्रमहरूबीच तालमेल मिलाउने,
योजनाका लक्ष्य र उद्देश्यबीचको तालमेल मिलाउने,
दृढ राजनीतिक इच्छाशक्ति र प्रशासनिक सक्रियता बढाउने,
मुलुकका प्राथमिकता, नागरिकका अपेक्षा र अन्तर्राष्ट्रिय प्रतिबद्धताका मानकहरू चयन गर्ने,
योजना तर्जुमामा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्ने,
स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्ने,
योजना तर्जुमा गर्दा स्रोत साधनको अवस्थाबमोजिम छनोट गर्ने,
विदेशी सहयोगप्रतिको निर्भरता कम गर्दै लग्ने,
आयोजनाको काम तोकिएको समय र लागतमा सम्पन्न गर्ने,
राजनीतिक नेतृत्व परिवर्तनसँगै हुने योजनाको लक्ष्य तथा उद्देश्य परिवर्तनलाई अन्त्य गर्ने,
आयोजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्ने,
कर्मचारीको सरुवा गर्दा योजना प्रभावित हुने किसिमले नगर्ने,
यथार्थ र कार्यान्वयनयोग्य कार्यनीति र रणनीति बनाई कार्यान्वयन गर्ने,
सरोकारावालाको सक्रिय सहभागिता गराउने,
सम्बन्धित निकायबीच प्रभावकारी समन्वयको संयन्त्र विकास गर्ने,
सही सूचना र तत्थ्यांकको प्रयोग गर्ने,
अनुगमन, मूल्यांकनलाई सूचकमा आधारित बनाउने, सार्वजनिक परीक्षण नागरिक सुनुवाइमा जोड दिने,     
 
अन्त्यमा
नेपालमा योजनाबद्ध विकासको ६ दशक बितिसक्दा पनि विकास प्रभावकारी हुन सकेको छैन । सही नीति र असल नेतृत्वका माध्यमबाट समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउनुपर्दछ । योजनाको प्रभावकारी कार्यान्वयन गर्नुपर्दछ । राम्रा योजना बन्ने, तर फितलो कार्यान्वयन हुने विगतको अवस्था अन्त्य हुनैपर्दछ । मुलुकले राजनीतिक स्थिरता पाइसकेको वर्तमान अवस्थामा विकासका सही प्रतिमान र लक्ष्यहरूको निर्धारण गर्दै मुलुकको आर्थिक सामाजिक रूपान्तरण गर्नु आजको आवश्यकता हो ।

You need to login to comment.

Facebook Comments