Welcome, Guest

लोकसेवाको प्रश्न कसरी हल गर्ने ? लेखाई के हो ? लेखाई कला हो । यो सूचनाको प्रस्तुतीकरण गर्ने माध्यम पनि हो । यो व्यक्तिपिच्छे फरक–फरक हुन्छ । राम्रो लेखनका लागि अभ्यास जरुरी हुन्छ । लेखाइ प्रस्तुतीकरण भएकाले लेख्दा सानो वाक्य संरचना, ओजिला शब्द, तथ्यपूर्ण तर्क र आफ्नो मौलिकपन पोख्न सक्नुपर्छ । लेखाइ सरल वाक्यांशबाट सुरु गर्नुपर्छ । अब्बल र सुन्दर लेखनका लागि साधनाको आवश्यक पर्छ । तसर्थ प्रत्येक दिन एक/दुई प्रश्नको हल गर्ने बानी बसाल्न सके लेखाइ आकर्षक बनाउन सकिन्छ । अभ्यासले अभ्यस्त बनाउने भएकाले नलेखी र नपढी लेख्न जानिँदैन । कुनै विषयवस्तुप्रति पर्याप्त सूचना संकलन नगरी लेख्न सकिँदैन । बिना सूचना प्रस्तुतीकरण संभव नै हुँदैन । लेखाइ कस्तो हुनुपर्छ ? लेखाई सुन्दर र आकर्षित हुनुपर्छ । यसको अर्थ जाँचकीलाई ‘लठ’ पार्ने किसिमको हुनुपर्छ । विषयवस्तुप्रतिको बुझाइ, ज्ञान र त्यसप्रतिको आफ्नो धारणले लेखाइ अझ उत्कृष्ट बनाउन सहज गर्छ । बुझाइ, ज्ञान र धारणाबीच उचित तालमेल मिलाउँदै सिलसिलेवार प्रस्तुत गर्न सके लेखाइ अझै रसिलो हुन्छ । लेखन उत्कृष्ट बनाउन विषयवस्तुबारे ज्ञानसँगै शब्द चयन, वाक्य संरचना र सिर्जनशिलता (मौखिकपन) मा ध्यान दिनुपर्छ । यिनको उचित संयोजनले नै सुन्दर र आकर्षित लेखाइ बन्न सक्छ । लेखाइमा के आवश्यक पर्छ ? लेखाइलाई अटल बनाउन केही आधारभूत पक्षलाई बिर्सनु हुँदैन । १. तथ्य २. ज्ञान ३. तर्क ४. वाक्य संरचना -तथ्य लेखाइ सुन्दर बनाउन तथ्यको महत्वपूर्ण भूमिका हुन्छ । लेख्दा आफ्ना भावना, संवेग र बहकाउलाई कम प्राथमिकता दिँदै तथ्यलाई बढी जोड दिनुपर्छ । यसको लागि सम्बन्धित विषय (शीर्षक)मा उपलब्ध तथ्यांकलाई संकलन गर्नुपर्छ । यसका लागि नेपालको संविधान, ऐन, नियम र प्रतिवेदन महत्वपूर्ण सामग्री हुनसक्छन् । जस्तै : ऊर्जा संकटबारे आर्थिक सर्वेक्षण २०७३/७४ मा उल्लेख भएको ऊर्जाको उपलब्धता, पहुँच, दैनिक खपत, दैनिक आवश्यकता र त्यसको पर्याप्तता र अभावबीचको अन्तरसम्बन्ध तथ्य नहेरिकन लेख्दा उत्तर अपूर्ण हुन्छ । तथ्यांकबिना लेख्दा भावना बढी र तथ्य कम पेश भई उत्तर कमजोर हुने संभावना हुन्छ । त्यस्तै अर्को उदाहरण हेरौं । तथ्य र गफ (भावना)बीचको अन्तर । नेपालमा भ्रष्टाचार बढिरहेको छ भन्नु गफ हो । तर, ट्रान्सपरेन्सी इन्टरनेसनलले २०१६ को भ्रष्टाचार अवधारणा सूचकांक अनुसार नेपालले २९ अंक पाएर १३१ औं स्थानमा परेको छ । यसले नेपालमा भ्रष्टाचारको मात्रालाई बढिरहेको देखिएको छ भन्नु तथ्य हो । तथ्यसहितको गफ भयो भने पत्यारिलो र विश्वसनीय हुन्छ । -ज्ञान ज्ञानले सधै सबैलाई हसाउँछ । सम्बन्धित विषयवस्तुप्रतिको ज्ञान बिनाको लेखाइ खोक्रो र हलुका हुन्छ । विषयवस्तुप्रतिको आफ्नो धारणा बनाउन विषयवस्तुको उद्भव, सैद्धान्तिक, व्यवहारिक, कानुनी, संवैधानिक र विश्वजगत पक्षबारे गहन अध्ययन गर्न जरुरी हुन्छ । टुक्रे, बोक्रे र छोटो अध्ययनले विषयवस्तुप्रति सधै अनविज्ञ बनाइराख्छ । गहन र गहिरो अध्ययनपश्चात त्यसलाई आफ्नो समाज, कानुन र व्यवस्थासँग प्रतिबिम्बित गरेर हेर्दै आफ्नै धारणा बनाउनुपर्छ । जस्तै : कानुनी शासनबारे लेख्दा रुल अफ ल र रुल बाइ ल बीचको फरक, सुप्रिमेसी अफ ल, इक्विेटी बिफेर दि ल, अकाउन्टबिलिटी टु दि ल, सेप्रेसन अफ पावरर्सलगायतबारे परिचित हुनुपर्छ । साथै कानुनका शासनको अवस्थाबारे प्रकाशित प्रतिवेदन र मानव अधिकार आयोगका प्रतिवेदनबारो जानकार हुनु आवश्यक छ । त्यस्तै नेपालमा यसको संवैधानिक, कानुनी, संस्थागत र व्यवहारगत पक्षबारे जानकार हुनुपर्छ । नेपालमा यसको महत्व, सबल पक्ष, सुधार्नुपर्ने पक्ष र चुनौतीका विषयमासमेत प्रष्ट हुनुपर्छ । विषयवस्तुबारे जानकारी भयो भने परीक्षार्थीमा आत्मविश्वास जगाई सहजै उत्तर दिने आँट दिन्छ । -तर्क तपाईंलाई के लाग्छ ? विवेचना गर्नुस् ? सुझाव दिनुस् ? उपाय सुल्झाउनुस् ? जस्ता प्रश्नमा यसको प्रयोग बढी हुने गर्छ । यसमा पनि तपाईं तथ्यको बेसमा रहेर सही तर्क प्रस्तुत गर्न सक्नुहुन्छ ? हरेक टपिकमा छुटाउनै नहुने मुल शब्द हुन्छन् । तिनलाई नदोर्होयाएर लेख्नुपर्छ । तिनै शब्दमा टेकेर गहकिलो तर्क प्रस्तुत गर्ने पर्यत्न गर्नुपर्छ । जस्तै लेखापरीक्षण शीर्षकअन्तर्गत नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यता जस्ता आधारभूत शब्द (पक्ष) हुन् । यी शब्द छुटाई अरु शब्दले उत्तर भर्ने प्रयास गरियो भने उत्तर निरस हुन्छ । यस्ता आधारभूत शब्द सबै टपिकमा हुन्छन् । यसबारे परीक्षाको तयारीका क्रममा तयार पार्नुपर्छ । तर्क दिँदा जहिल्यै पनि आफ्नो मौखिकपन दिन सक्नुपर्छ । सिर्जनशिल, मौलिक र रचनात्मक प्रस्तुतिले युनिकता भर्ने हुनाले प्रायः परीक्षार्थीबाट यसैको अपेक्षा गरिएको हुन्छ । विषयवस्तुप्रति परीक्षार्थीको बुझाइ, ज्ञान र धारणा समेत जाँचिने भएकोले सकरात्मक तर्क पेश गर्नुपर्छ । सन्तुलित र सकरात्मक तर्क पेश गर्दा परीक्षार्थीलाई नै लाभ हुन्छ । मानवीय संवेग नकारात्मकरूपमा उत्तरमा असरल्ल, छताछुल्ल र अभद्ररूपमा पोखिनु हुँदैन । वाक्य संरचना वाक्य संरचना छोटो, सरल र बुझिने किसिमको हुनुपर्छ । शब्द छनोटमा विशेष ध्यान दिनुपर्छ । जाँचकीलाई अलमल पार्ने, दोधारे अर्थ दिने शब्दको प्रयोग गर्न हुँदैन । सकबर ओजिला शब्द छनोट गर्नुपर्छ । हाम्रोमा बूँदागत, प्याराग्राफ र चित्रात्मक रूपमा लेख्ने प्रचलन छ । जसरी लेखे पनि सटिक उत्तर दिँदा केही फरक पर्दैन । प्याराग्राफमा लेख्दा ४/५ लाइनभन्दा बढीको बनाउँदा त्यति सुन्दर देखिदैन की ? त्यसमा विचार गर्नुपर्छ । यो टपिकबाट यो प्रश्न आयो भने यसरी लेख्छु भनेर पूर्वयोजना बनाउनुपर्छ । यसमा कपीको मार्जिन मिलाउनेदेखि लेख्ने समयसम्म निर्धारण गर्नुपर्छ । शब्द छनोट, अक्षरको सुन्दरता र वाक्य संरचना आफैमा उत्तर त होइनन् । तर, लेखेको उत्तरमा मिठास भरेर जाँचकीको मन जित्न उद्दत भने पक्कै गर्छन् । अन्त्यमा, लोकसेवाको पढाइ र लेखाइको लागि कुनै छुट्टै वैज्ञानिक विधि र सिद्धान्त छैन । ज–जसले जे–जे सुनाउँछन्, लेख्छन् । ति व्यक्ति अध्ययन र अनुभवका धारणा हुन् । यी सबै धारणामा सहमत हुनुपर्छ भन्ने पनि छैन । जसरी लेखे/पढे पनि प्रश्नले मागेको उत्तर दिएको खण्डमा सफलता धेरै टाढा हुँदैन । प्रश्न राम्रोसँग पढेर त्यसको अंकभार हेरेर मात्र उत्तर दिन तयार हुनुपर्छ । प्रश्नसँग राम्रोसित परिचित नभई उत्तर दिने हतार गर्नु हुँदैन । प्रश्नसँग चिरपरिचित नभइकन उत्तर दिने हतारोले प्रश्नले मागेको भन्दा आफूले जानेको उत्तर जाने डर हुन्छ । रुचि भएको क्षेत्रमा निरन्तरता, धैर्यता, कटिवद्धतासँगै समय व्यवस्थापन गर्न सके अवश्य सफल भइन्छ । नियमित प्रयास नै सफलताको बुटी हो । सबैलाई सफलताको शुभकामना । -तुल खड्का (साभार):कार्तिक २६ गते, २०७४ - बिहान ०७ः०९,प्रशासन डट कम मा प्रकाशित ।

ʞhim ßudha

on 16 Nov, 2017

You need to login to reply on this post.
Join TayariPLUS

RECEIVED ANSWERS
Manoj Banshi Magar

on 16 Nov, 2017

धन्यबाद सर

pawan yadav

on 16 Nov, 2017

thanks