लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस
Choose Package
* All prices are exclusive of any taxes.
7 Days (Rs. 50)
30 Days (Rs. 150)
365 Days (Rs. 1050)
भुवन पाण्डे, २०७० सालको लोकसेवा आयोगले लिएको शाखा अधिकृतको परीक्षामा पहिलो नम्बरमा नाम निकाल्ने निजामती कर्मचारी हुन् हाल सामान्य प्रशासन मन्त्रालयमा रहेका अधिकृत पाण्डे गुल्मीको सामान्य किसान परिवारमा जन्मिएका हुन् । त्यहीँको सरकारी विद्यालयबाट एसएलसी पास गरेका २६ वर्षका पाण्डेले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
निजामती सेवाप्रति कसरी आकर्षित हुनुभयो ?
हाम्रो गाउँका धेरैजना सरकारी सेवामा छन् । एक किसिमले भन्ने हो भने गुल्मी जिल्लामा निजामती सेवामा लाग्नुपर्छ भन्ने संस्कार नै छ । यद्यपी मलाई भने पहिलेदेखि गणित विषयको शिक्षक बनेर शिक्षण सेवामा नै लाग्छु भन्ने थियो । स्नातकको परीक्षा दिएपछि मलाई लोकसेवाको तयारी गर्ने रुची भयो । सँगै पढेका साथीहरु सबै स्कूल पढाउन गाउँतिर गए । मलाई पनि पढाउने अवसर आएको थियो तर गाउँ जान मन लागेन । मेरा दुई दाजुमध्ये एकजना शाखा अधिकृत र एकजना गाविस सचिव हुनुहुन्छ ।
केही मात्रामा दाजुहरुको पनि प्रभाव हो । तर, लोकसेवाको तयारी गर्ने मेरो एक्लो निर्णय हो । निजामती सेवामा लागेर जनताको नजिकमा काम गर्न सक्छु भन्ने लाग्यो । अर्कोतर्फ वृत्तिविकासको अवसर, समाजको प्रतिष्ठित पेशा र जागिरको स्थायित्वको कारणले पनि निजामती सेवामा मेरो आकर्षण भयो । लोकसेवा तयारीको पुस्तक किनेर पढ्न थालें । विस्तारै निजामती सेवामा नै मेरो भविष्य छ जस्तो लाग्यो ।
लोकसेवा परीक्षाको तयारी चाहिँ कसरी गर्नुहुन्थ्यो ?
म कहिल्यै इन्ष्टिच्युट गइन । पुस्तक किनें, एउटै पुस्तकमा केन्द्रित भएर तयारी गर्न थाले । बिहान ६ बजे पढ्न बस्थें । चार घण्टासम्म पढ्थें । त्यसपछि खाना बनाउँथे । खाना खाएर दिनभर पढ्थेँ । दिउँसो चार÷पाँच बजेसम्म पढेपछि चिया पिउन निस्किन्थें । बाहिर निस्किँदा पनि दिमागमा पढेका कुराहरुलाई दोहोर्याएर सम्झिने कोशिस गरिरहन्थें । बेलुका सात बजेतिर कोठा फर्केर खानाको तयारीमा लाग्थेँ । त्यसपछि दाजुसँग दिनभर पढेका विषयमा छलफल गरेर सुत्थें । भोलिपल्ट पनि त्यही रुटिन दोहोरिन्थ्यो । मैले पहिलो पटक २०६७ सालमा नायब सुब्बाको परीक्षा दिएँ ।
त्यसै वर्ष बालाजु औद्योगिक क्षेत्र, विद्युत प्राधिकरणमा पनि सहायक स्तरको परीक्षा दिएँ । पहिलो पटकमा नै नायब सुब्बामा नाम निस्कियो । २०६७ माघ ९ गते पाठ्यक्रम विकास केन्द्र सानोठिमीमा नायव सुब्बाको जागिर सुरु गरें । एक वर्ष त्यहाँ काम गरेपछि सहकारी डिभिजन कार्यालय ललितपुरमा काम गरें । अधिकृतको तयारी गरिरहेको थिएँ । २०६९ सालमा अधिकृतको परीक्षा दिँदा वैकल्पिकको दोश्रो नम्बरमा नाम निस्कियो । दोस्रोपटक २०७० सालमा पनि परीक्षा दिएँ । प्रशासन, लेखा र व्यवस्थापिका संसदमा एकैपटक दिएको थिएँ । तीनै वटामा लिखितमा उत्तीर्ण भएँ । मौखिक अन्तर्वाता भने प्रशासनमा मात्रै दिएँ । पहिलो नम्बरमा नाम निस्कियो ।
पहिलो पटक नाम ननिस्किदा कस्तो अनुभूति भयो ?
लोकसेवा आयोगको तयारी गर्दा कहिल्यै पनि कमजोर मनोवल बनाउन हुँदैन । मैले पहिलोपटक नायव सुब्बामा नाम निकालें । त्यतिबेला नै मैले थाहा पाएको थिएँ, लोकसेवा आयोग नेपालको एकमात्रै निश्पक्ष परीक्षा हुने सरकारी निकाय हो । यहाँ कतैबाट सोर्सफोर्सले जागिर खाने सम्भावना हुँदैन । त्यसैले मैले मेहनत जारी राखें । पहिलोपटक अधिकृतमा वैकल्पिकमा नाम देखेपछि अर्कोपटक पहिलो नम्बरमा नै पर्नुपर्छ भन्ने मेरो मनमा थियो । मेहनत गरे सफल हुन सक्छु भन्ने आँट पनि थियो । त्यसैले मनमा कुनै आत्मग्लानी नराखी मेहनत गर्न थालें । अन्ततः पहिलो नम्बरमा नाम निस्कियो ।
लोकसेवामा नाम निकाल्न कसरी पढ्नुपर्छ ?
मैले पढ्दा सँधै रुटिन बनाएर पढें । अधिकृतको तयारी गर्दा मसँग थोरै समय हुन्थ्यो । बिहान ५ बजे उठ्थें । ६ बजेदेखि १० बजेसम्म पढ्थें । भूगोल, इतिहास, संस्कृति, विज्ञान, खेलकुद आदि खण्डलाई सँगै अघि बढाउने गरी रुटिन बनाउथें । आधा घण्टा भूगोल पढियो भने आधा घण्टा इतिहास, त्यसैगरी अरु खण्डलाई पनि बराबर समय छुट्याउने । मैले पढ्दा अपनाएको यो तरिकाले चाहिँ सबैभन्दा सजिलो विषयवस्तु सम्झिन हुन्थ्यो । एउटा विषय पढिसकेपछि लामो समय नहेर्दा बिर्सिन सकिन्छ । सबै विषयलाई उत्तिकै समय दिँदा एकातिर सम्झिन सजिलो अर्कोतिर एउटा विषय मात्रै पढ्दा दिक्क लाग्न सक्छ ।
फरक फरक विषय हुँदा पढ्न पनि रमाइलो हुने । अर्को महत्वपूर्ण कुरा, मैले पढ्दा जहिल्यै तुलना गरेर पढ्थें । सामान्य ज्ञानहरुमा तिथिमिति सम्झनु पर्दा त्यो मितिसँग नजिक पर्ने आफ्नो नजिकमा भएका घटना वा कसैको जन्मदिन सम्झिने गर्दा पनि सजिलो हुन्थ्यो । कुनै विषय भने सुत्र बनाएर पढ्दा पनि सम्झिन सजिलो हुन्थ्यो । जस्तो कि भित्री मधेशका जिल्लाहरुको नाम सम्झिन पर्यो भने, ‘सुमन र निउसे दाङतिर गएछन्’ सुत्र लगाउँथे । लामा नामहरु सम्झिन यस्ता छोटो तर रमाइलो वाक्यबाट सजिलो हुन्थ्यो । घरबाट बाहिर निस्किँदा दैनिक घटना बुझ्न पत्रपत्रिका पढ्ने बानी पनि अधिकृतको तयारीको लागि महत्वपूर्ण पक्ष हो ।
अनि लेख्ने तरिका नि ?
सबैभन्दा महत्वपूर्ण परीक्षाको प्रस्तुति नै हो । पहिलो कुरा परीक्षामा समय व्यवस्थापन गर्नुपर्छ । लोकसेवाका धेरै परीक्षार्थीहरुले प्रश्नको गहिराई अनुसार समय व्यवस्थापन गर्न नसक्दा अनुत्तीर्ण हुने गरेका छन् । लोकसेवा आयोगले अधिकांश प्रश्नमा तीनवटा प्रश्न जोडेको हुन्छ । जस्तो कि कुनै प्रश्नमा अवधारणा, परीभाषा तथा त्यसको समस्या या चुनौती ।
यस्ता प्रश्नको जवाफ दिँदा विश्लेषणात्मक ज्ञान अधिकृत तहको परीक्षार्थीमा हुनै पर्छ । उत्तर लेख्दा सरल भाषा, सटिक प्रस्तुति, सफा अक्षर अनि अर्थ खुल्नेगरी आफ्नै शैलीको जवाफ महत्वपूर्ण हुन्छ । सामान्य वाक्यबाट उत्तरको सुरुआत गर्ने । सकेसम्म अरुको भन्दा पृथक बनाउने कोशिस गर्ने । सटिक जवाफ दिने । मैले लोकसेवा आयोगको १० नम्बरको प्रश्नमा तीन पेज उत्तर लेख्थें ।
जसमा सरल भाषामा सुरुआत, तथ्य, तथ्याङ्क र सकेसम्म चित्रद्वारा विषयवस्तुतलाई थप प्रष्ट्याउने र निश्कर्ष सटिक तर चोटिलो । यत्ति भए उत्तर दमदार हुन्छ र जाँचकीलाई प्रभावित पार्न सकिन्छ ।
पुस्तक छनोट कसरी गर्नुहुन्थ्यो ?
पुस्तक छनौट पनि लोकसेवामा महत्वपूर्ण छ । तर, लोकसेवा तयारी गर्दा धेरै पुस्तक चहार्नु हुँदैन भन्ने मेरो अनुभव छ । बजारमा आएका पुस्तकहरुमध्ये सबै पुस्तकमा लोकसेवा तयारीको लागि चाहिने ७० प्रतिशत विषयवस्तु समेटिएका हुन्छन् । एउटा मात्रै पुस्तक ल्याएर त्यसको सबै विषयवस्तु अध्ययन गरेमा ७० प्रतिशत ज्ञान परीक्षार्थीमा हुन्छ । पढ्दा जहिल्यै एउटा लेखकको पुस्तकलाई मात्रै आधार बनाउनुस् । त्यो पुस्तक पढेर सकिएपछि मात्रै बजारका अन्य पुस्तकमा आँखा डुलाउनुस् । म त भन्छु गहन अध्ययन गर्ने भनेको एउटा मात्रै पुस्तकको हो । बाँकी ३० प्रतिशत ज्ञान दैनिक भएका समसामयिक घटना, सञ्चारमाध्यममा दैनिक आउने लेख, घटना, राष्ट्रिय अन्तर्राष्टिय घटनाको अपडेटबाट पाउन सकिन्छ ।
पहिलो हुँदापनि तपाईंले किन सामान्य प्रशासन रोज्नुभयो ?
हो, मैले पनि रोज्ने अवसर पाएको थिएँ । त्यसैले सामान्य प्रशासन मन्त्रालय रोजें । प्रशासन भनेको जनतासँग सिधा सम्पर्क हुने क्षेत्र हो । प्रशासन तर्फ जानुको पहिलो कारण नै जनताको नजिकमा रहेर काम गर्ने चाहनाले हो । सामन्य प्रशासन नै रोज्नुको अर्को कारण भने निजामती कर्मचारीसँग सम्बन्धित क्रियाकलाप बुझ्नका लागि हो । म निजामती सेवामा नयाँ हुँदा नै कर्मचारीसँग सम्बन्धित योजना, नीति, सरुवा बढुवा, वृत्ति विकासका बारेमा जानकारी राख्नको लागि हो । साामन्य प्रशासन मन्त्रालय कर्मचारीको केन्द्रीय निकाय भएकोले पनि पहिलो अनुभव मलाई यहि मन्त्रालयबाट लिन रुची भयो । निजामती सेवाका कर्मचारीको सरुवा प्रत्येक दुई वर्षमा हुन्छ । विस्तारै अन्य क्षेत्रको पनि अनुभव लिन पाइन्छ ।
Bhagiram Chaudhary
on 22 Sep, 2017
livence like loksewa