Welcome, Guest

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित

2074-02-23 / Source: onlinekhabar.com  /  3.3K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

२३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । गणतान्त्रिक नेपालको उनी नवौं प्रधानमन्त्री हुन् । देउवा प्रधानमन्त्री बनेको यो चौथोपटक हो ।
 
मंगलबारको संसद बैठकमा उपस्थित कुल ५५८ सांसदहरुमध्ये देउवाको पक्षमा ३८८ र विपक्षमा १७० मत परेको थियो ।
 
देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका थिए भने कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतले समर्थन गरेका थिए ।
 
हो हुन् शेरबहादुर देउवा ?
 
२००३ जेठ ३१ गते आसिग्राम–५ रुवाखोला डडेल्धुरामा जन्मिएका देउवा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा  हामिएका थिए । खासगरी विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रुपमा सक्रिय उनी नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् ।
 
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक प्रधानमन्त्री देउवा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो हुन् । उनीकी पत्नी डा आरजु राणा देउवा सांसद छिन् भने छोरा लण्डनमा अध्ययनरत छन् ।
विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उनी २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए ।
विसं २०४८ मा गृहमन्त्री बनेका देउवाले त्यसपछि पटकपटक गरी तीन पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले । उनी पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भए । त्यसपछि २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ सम्म दोस्रोपटक प्रधानमन्त्री रहे । असोज १८ मा उहाँलाई तत्कालीन राजा ज्ञानेन्द्रले उनलार्इ पदबाट बर्खास्त गरेका थिए ।
 
प्रधानमन्त्री देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री भए । तर, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई असक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गरे ।
प्रधानमन्त्री हुँदा उनले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेसलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस (कदमजम) को अवधारणा ल्याएका थिए । त्यस्तै उनकै पालामा विशेष वर्ग एवम् समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोगहरू गठन भएका हुन् ।
 
पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठन भएको नेपाली कांग्रेस (प्रजातान्त्रिक)को सभापति बने । ०६४ मा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक)को एकतापछि उनी वरिष्ठ नेता भए ।
 
सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष रहेका उनी २०१३ देखि अन्तर्राष्ट्रिय उपाध्यक्ष छन् । प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले पटक–पटक गरी नौ वर्ष जेलमा जीवन विताएका छन् ।

You need to login to comment.

Facebook Comments

Read More News