Welcome, Guest

एक आवभर कर्मचारीकाे सरुवा नहुने

2073-04-03 / Source: gorkhapatraonline.com  /  846 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौँ, साउन ३ गते । सरकारले नीति तथा कार्यक्रम तथा बजेट कार्यान्वयनलाई प्रभावकारी तुल्याउन आर्थिक वर्षको सुरुमै कर्मचारीसँग कार्यसम्पादन करार गरी आवभर ती कर्मचारीको सरुवा नगर्ने भएको छ ।
 
मुख्य सचिव सोमलाल सुवेदीको अध्यक्षतामा आज बसेको सचिवहरुको बैठकले कर्मचारीसँग कार्यसम्पादन करार गरी सम्बन्धित कार्यालय÷निकायमा खटाउने र त्यसरी खटाइएका कर्मचारीलाई सो आवभर सरुवा नगर्ने व्यवस्था मिलाइने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । 
 
यसैबीच  निजामती कर्मचारीले सरुवाका लागि काठमाडौँ धाउनु नपर्ने भएको छ । सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको सरुवाका लागि अनलाइनबाट फारम भर्ने व्यवस्था गरेपछि कर्मचारीलाई काठमाडौँ धाउनु नपर्ने भएको हो ।
 
मन्त्रालयकी सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालले कर्मचारीलाई सजिलो र सरुवालाई व्यवस्थित बनाउन अनलाइनबाट फारम भरी सरुवाको व्यवस्था गरिएको जानकारी गराउनुभयो ।
 
उहाँका अनुसार मन्त्रालयले आजबाट नै कर्मचारीलाई सरुवाका लागि अनलाइनबाट फारम भर्ने व्यवस्था गरिएको जानकारी गराउनुभयो । “कर्मचारीलाई सरुवाका लागि आजैबाट अनलाइनमा रहेको फारम भर्ने व्यवस्था गरेका छौँ”– उहाँले भन्नुभयो, “त्यही फारमका आधारमा कर्मचारीलाई सरुवा गरिनेछ ।”
 
मन्त्रालयले श्रेणीविहीनदेखि राजपत्राङ्कित द्वितीय श्रेणीसम्मका कर्मचारीलाई अन्तरमन्त्रालय र निकाय सरुवाका लागि अनलाइनबाट नै फारम भर्ने व्यवस्था मिलाएको हो । साउन महिनामा निजामती कर्मचारीको मन्त्रालयले सरुवा गर्ने व्यवस्था रहेको छ ।
 
“इन्टरनेट पहँुच पुगेका ठाउँका कर्मचारी सरुवाका लागि चिठी दिन अब काठमाडाँै आउनु पर्दैन”– प्रवक्ता पोखरेलले भन्नुभयो, “अनलाइनबाट नै फारम भर्ने व्यवस्था मिलाएका छौँ ।” उहाँले अनलाइनबाट फारम नभर्नेलाई भने पहिले जस्तै मन्त्रालयमा आएर फारम भर्नसक्ने समेत जानकारी गराउनुभयो ।
 
अनलाइनमा रहेको फारम कर्मचारीले कुन मन्त्रालय र निकायमा जाने भनेर छनोट गरेर भर्नेछन् । फारम भरेपछि एसएमएसमार्फत सरुवाको निवेदन दर्ता भएको र दर्ता नम्बर कर्मचारीले पाउने उपसचिव मुकेशकुमार केशरीले जानकारी गराउनुभयो । उहाँको अनुसार फारम भरेपछि कर्मचारीको सरुवाका लागि निश्चिता भए नभएको पनि सफ्टवेयरमार्फत तुरुन्तै जानकारी पाउने छन् ।
 
सरुवा नहुने भएपछि यो यो कारणले सरुवा हुन नसकेको पनि थाहा पाउने उपसचिव केशरीले बताउनुभयो । उहाँका अनुसार फारम भरिसकेपछि सफ्टवेयरमा तीन रङ किसिमका सम्भाव्य सूचीले सरुवाको जानकारी दिनेछ । हरियो रङले सरुवाको सुनिश्चिता भएको, पहँेलो रङले सम्भावना भएको र रातो रङले सरुवा हुन नसक्ने देखाउने छन् । केशरीले कर्मचारी फलानो ठाउँमा सरुवा भएको पनि एसएमएसमार्फत जानकारी गराइने बताउनुभयो ।
 
“हामीले सरुवाका लागि निश्चित गरेपछि कुन कर्मचारी कहाँ सरुवा हुने भएको हो भन्ने कुरा एमएमएसमार्फत जानकारी गराउछाँै”– उहाँले भन्नुभयो, “सरुवाको चिठीका लागि पनि मन्त्रालय आउनुपर्दैन । इमेलमा नै चिठी पठाउछौँ ।” उहाँले कर्मचारीले पाँच मिनेटमा नै अनलाइनमा भएको फारम भर्न सक्ने बताउनुभयो । उहाँका अनुसार देशभरि ८३ हजार ५७० निजामति कर्मचारी रहेका छन् ।
 
उहाँका अनुसार देशभरिमा प्रत्येक वर्ष तीन हजार पाँच सय कर्मचारी सरुवा हुने गरेका छन् । आज पहिलो दिन १० कर्मचारीले अनलाइनबाट फारम भरेको उपसचिव केशरीले बताउनुभयो ।
 
रासस

You need to login to comment.

Facebook Comments

Read More News